टेलिकमले सर्वसाधारणका लागि हालसम्म वाइम्याक्स सेवा सुरु गरेको छैन। पश्चिमाञ्चलमा पनि व्यावसायिक संस्थाहरुका लागि यो सेवा सुरु गरिएको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले बताइन्। उनका अनुसार व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी र गैरसरकारी निकायलगायतलाई हाल यो सेवा दिइनेछ।
टेलिकमले यसअघि नै पूर्वी क्षेत्र र चितवनमा पनि यो सेवा सुरु गरिसकेको छ। आइतबारदेखि पोखरा, भैरहवा, वुटवल र पाल्पामा यो सेवा सुरु भएको हो। पश्चिमाञ्चलका अन्य क्षेत्रमा पनि परीक्षण सकिएको र चाँडै वितरण सुरु हुने टेलिकमले जनाएको छ। वाइम्याक्समार्फत ग्राहकले कम्तीमा पनि २ सय ५६ किलोबिट् प्रतिसेकेन्ड गतिमा इन्टरनेट चलाउन सक्नेछन्।
वाइम्याक्स चलाउन ग्राहकले सिपिई नामक उपकरण खरिद गर्नुपर्छ। यस्ता सिपिई युएसबी डोङ्गल, आउट ढोर र इनडोर गरी तीनखाले हुन्छन्। मुलुकभर उच्च गतिको इन्टरनेट पुर्याउने लक्ष्यका साथ कम्पनीले वाइम्याक्स सेवा विस्तार गरेको हो। टेलिकमले हाल वाइम्याक्समार्फत भोलम बेस इन्टरनेट प्याकेजमात्र चलाएको छ।
प्रकाशित: १४ माघ २०६९ १२:५३ आइतबार