प्राधिकरणले मोबाइल टावरबाट उत्पादन हुने विभिन्नखाले विकिरणले स्वास्थ्यमा पार्ने असरका विषयमा गरिएका अन्तर्राष्ट्रिय अध्ययनहरुलाई आधार मान्दै यस्तो मापदण्ड बनाउन लागेको हो। प्राधिकरणले दूरसञ्चार ऐन र नियमावलीको प्रावधानअनुसार मापदण्डको प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ।
'ताररहित सञ्चारबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक असर न्यूनीकरण सम्बन्धी मापदण्ड'को प्रारम्भिक मस्यौदा तयार गरी प्राधिकरणले विज्ञ र सर्वसाधारणको सुझाव संकलन गरिरहेको छ। ‘मापदण्डमा सबै सरोकारवालाको सुझाव समेटियोस् भनेर हामीले सुझाव मागेका छांै,' प्राधिकारणका कार्यवाहक अध्यक्ष आनन्दराज खनालले नागरिकसँग भने, ‘मोबाइल टावरबाट जनस्वास्थ्यमा पर्ने असर कम गर्न मापदण्ड ल्याउन लागेका हौं।'
विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले मोबाइल टावरलगायत ताररहित सञ्चार उपकरणले निकाल्ने विद्युत चुम्बकीय विकिरण(इलेक्ट्रो म्याग्नेटिक रेडिएसन-इएमआर)ले मानवस्वास्थ्यमा विभिन्न खाले असर गर्ने देखाएका छन्। यस्तो विकिरणले गर्दा थकाइ लाग्ने, टाउको दुख्ने, एकाग्र हुन नसक्ने, स्मरण शक्ति ह्रास हुनेलगायत समस्या उत्पन्न हुने अध्ययनहरुको निष्कर्ष छ। यसैगरी मुटु र छालाको समस्याका साथै आँखा एवं कानमा समेत समस्या आउन सक्छ।
दूरसञ्चार ऐन-२०५३ र नियमावली-२०५४ ले प्राधिकरणलाई दूरसञ्चार सेवा र दूरसञ्चारसम्बन्धी यन्त्र तथा उपकरणहरुको स्तर तोक्ने, गुणस्तर निर्धारण एवं स्वीकृत गर्ने अधिकार दिएको छ। प्राधिकरणले यही अधिकार प्रयोग गरी मापदण्ड बनाउन लागेको खनालले जानकारी दिए।
प्राधिकरणले प्रस्ताव गरेको मस्यौदामा दूरसञ्चार सेवा प्रदायकले स्वास्थ्यमा न्यूनतम असर गर्ने खालको उपकरण प्रयोग गर्नुपर्ने, विद्युत चुम्बकीय विकिरणको मापन गरी स्वास्थमा प्रतिकूल नहुने गरी उपकरण जडान गर्नुपर्नेलगायत प्रावधान राखिएको छ। प्राधिकरणले दूरसञ्चार ऐनमा भएको व्यवस्थालाई आधार मान्दै यस्तो प्रस्ताव गरेको हो।
यसैगरी विद्युत चुम्बकीय विकिरणको प्राधिकरणले मापन गर्ने विधि विकास गर्ने र त्यसलाई सबै सेवा प्रदायकलाई कार्यान्वयन गर्न लगाउने व्यवस्था गरिएको छ। विभिन्न मुलुकमा तोकिएको जस्तै यस्तो विकिरणको मात्रा प्राधिकरणले मापदण्डमा तोक्नेछ।
मापदण्ड निर्माण भएर लागु भएपछि प्राधिकरणले विभिन्न दूरसञ्चार कम्पनीले बनाएका टावरहरुको अनुगमन गरेर त्यसबाट मानव स्वास्थमा पर्ने असरको विष्लेषण गर्नेछ। यसरी गरिएको अनुगमनका क्रममा मानव स्वास्थ्यमा तोकिएको न्यूनतम मापदण्डभन्दा बढी असर पर्ने देखिएमा प्राधिकरणले सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिन र कारबाही गर्न पनि पाउनेछ।
सरकारी मापदण्ड नहुँदा हालसम्म दूरसञ्चार कम्पनीहरुले मोबाइल टावरबाट स्वास्थ्यमा पर्ने असरबारे खासै सावधानी अपनाएका छैनन्। सेवा प्रदायकहरुले भने स्वास्थमा पर्ने असर कम गर्न विभिन्नखाले उपाय अबलम्बन गर्दै आएको बताउने गरेका छन्।
प्रकाशित: ७ माघ २०६९ २२:२२ आइतबार