प्रविधि

२६ लाख रुपैयाँमा सबैभन्दा पातलो थ्रिडी टिभी

काठमाडौं, पुस १४ (नागरिक)-विश्वकै सबैभन्दा पातलो थ्रिडी टेलिभिजन नेपाली बजारमा आएको छ। दक्षिण कोरियाली विद्युतीय सामग्री निर्माता कम्पनी एलजीले उत्पादन गरेको सबैभन्दा पातलो थ्रिडी बेजेल टिभी नेपाली बजारमा भित्रिएको हो।  
नेपालका लागि एजलीको बिक्रेता चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले सबैभन्दा पातलो टिभी नेपालमा बिक्री सुरु गरेको हो। चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एलजीको ५५-एलएम-९६०० मोडलको थि्रजी बेजेल टिभी बिक्री सुरु गरेका हुन्। उनले एजलीले लामो मेहनत र शोध अनुसन्धान गरी सबैभन्दा पातलो टिभी बनाएको बताए।
बजारमा यो टिभीका विभिन्न मोडल उपलब्ध छन्। कम्पनीले हाल बजारमा ५५ इन्चको ५५-एलएम-९६०० भित्र्याएको छ। यसैगरी ८४ इन्चको ८४-एलएम-९६०० मोडल भने २ महिनापछि उपलब्ध हुनेछ। थ्रिडी प्रविधिको पछिल्लो पुस्ता प्रयोग भएकाले यो टिभीमा थ्रिडी भिडियोलाई अरु टिभीको तुलनामा अझ बढी स्पष्ट देख्न सकिनेछ।
'यो टिभीको मोटाइमात्र १ मिलिमिटर छ, जब कि टिभीको मोटाइ ४.७ मिलिमिटरबाट सुरु हुन्छ,' सिजी इलेक्ट्रोनिक्सको बिक्रीतर्फका महाप्रबन्धक रमेश श्रेष्ठले भने, 'यही विशेषताले गर्दा यसले विश्व कीर्तिमान राखेको छ।' यसमा फराकिलो सिमेमा स्रिष्न, नानो फुल एलइडी डिस्प्ले, एसडीदेखि एचडीसम्मको अपस्केल, वायरलेस डिस्प्ले, प्रिमियम कन्टेन्ट सर्भिस, १२ सयभन्दा बढी स्मार्ट टिभी एप्स, म्याजिक रिमोटलगायत विशेषता यसमा छन्।
श्रेष्ठका अनुसार यसमा गेम खेल्न डुअल प्ले फङ्सन, थ्रिडी फिल्मका लागि उचित छनोट, थ्रिडी साउन्ड जुमिङ, थ्रिडी कर्न्भटरलगायत विशेषता यो टिभीमा छन्। कम्पनीका वरिष्ठ प्रबन्धक अंकुर गोयलले यो टिभीमा थ्रिडी सिनेमा हेर्दा वास्तविकजस्तै अनुभव गर्न सकिने बताए। 'अन्य टिभीको तुलनामा यसमा अझ बढी वास्तविकताको अनुभूति गर्न सकिन्छ,' उनले भने।
यो टिभीलाई वायरलेस डिस्प्लेको माध्यमबाट कम्प्युटरमा पनि जोडेर काम गर्न मिल्छ। कम्पनीका अनुसार इन्टेलको विडी प्रविधिले यो सुविधा दिएको छ। ग्राहकले नेपाली बजारमा एलजीको ५५ इन्चको यो टिभी ६ लाख रुपैयाँमा किन्न सक्नेछन्। ८४ इन्चको टिभीको भाउ भने २६ लाख रुपैयाँ तोकिएको छ।

प्रकाशित: १४ पुस २०६९ ०८:१९ शनिबार