प्रविधि

ल्यान्डलाइन सबै फोनमा एसटिडी

काठमाडौं, असोज ११ (नागरिक) - नेपाल टेलिकमले बिहीबारदेखि सबै ल्यान्डलाइनमा स्वतः एसटिडी सेवा उपलब्ध गराउने भएको छ। असोज १ देखि देशभरि एसटिडी कलको महसुल मिनेटको एक रुपैयाँमा झारेको टेलिकमले सबैलाई यो सेवा उपलब्ध गराउने भएको हो।
'बिहीबारदेखि सुरु गरेर एक साताभित्र सबै पिएसटिएन फोनमा स्वतः एसटिडी सेवा दिइसक्छौं,' टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले भनिन्।
अहिले पिएसटिएन ग्राहकको संख्या ६ लाख ३० हजार छन्। दुई वर्षअघिसम्म एसटिडी सेवा लिन थप दुई हजार रुपैयाँ धरौटी राख्नुपर्थ्यो। अहिले एसटिडी सेवाका लागि थप धरौटी राख्नुपर्ने प्रावधान खारेज गरिएको छ।
बिहीबारदेखि भने कसैले एसटिडी सेवा नलिएको भए पनि त्यो फोनमा स्वतः सेवा थपिन्छ। 'कुनै ग्राहकलाई एसटिडी सेवा आवश्यक नभए लकिङ कोडको माध्यमबाट सेवा रोक्न सक्छन्,' प्रधानले भनिन्।
असोज १८ गतेसम्म क्रमशः देशभरिका पिएसटिएन फोन सबैमा एसटिडी सेवा उपलब्ध गराउने योजनामा टेलिकम छ। त्यसो गर्दा उपभोक्ताले एक रुपैयाँ मिनेटमा नेपालभित्र जहाँसुकै पनि फोन गर्ने सुविधा पाउने टेलिकमले जनाएको छ।

प्रकाशित: १० आश्विन २०६९ २३:०१ बुधबार