प्रविधि

पाँच पत्रकार 'गुफा' बस्ने

काठमाडौँ, भदौ २० (नागरिक)- सोसल मिडिया लगायतका न्यु मिडिया मात्र चलाएर समाचार बनाउने प्रयोगका लागि पाँच पत्रकार ७२ घण्टाका लागि गुफा बस्ने भएका छन्। ७२ घण्टासम्म ती पत्रकारहरुलाई कोठाभित्र मात्र इन्टरनेटको सम्पर्क दिइनेछ।  इन्टरनेटबाट न्यु मिडियाको प्रयोग गरी उनीहरुले ग्रामीण क्षेत्रमा जनचासोका विषयमा मौलिक रिपोर्ट तयार पार्ने चुनौति दिइएको छ। 

न्यु मिडिया गुफा २०१२ दिइएको यो अनुसन्धानमा नागरिक दैनिकबाट गुणराज लुइँटेल, रिपब्लिकाबाट कमल परियार, कान्तिपुर टेलिभिजनबाट रजनीश भण्डारी, दि हिमालयन टाइम्सबाट केशव कोइराला र कम्युनिटी इन्फरमेसन नेटवर्कबाट बिनु सुवेदी सहभागी हुनेछन्। 

आयोजक मिडिया फाउन्डेसनले सहभागी हुने पत्रकारहरुको सूचि आज सार्वजनिक गरेको हो। 

पत्रकारहरुलाई भदौ २२ गते शुक्रबारदेखि ठमेलको होटल मण्डपमा भदौ २४ सम्म राखिने र उनीहरुका गतिविधि डा. धर्म अधिकारीको नेतृत्वमा तीन अनुसन्धानकर्ताहरुको समूहले निरीक्षण र रेकर्ड गर्ने फाउन्डेसनले जनाएको छ। नेपाल जस्तो विकासोन्मुख देशमा समाचारको स्रोत खोजी, संकलन र रिपोर्टिङमा इन्टरनेटको उपयोगिता बारे बुझ्न अनुसन्धान हुन लागेको हो।

'गुफा'भित्रका दृश्य इन्टरनेटबाट लाइभ वेबकास्ट गरिने फाउन्डेसनले जनाएको छ। 

 

प्रकाशित: २० भाद्र २०६९ ०६:४० बुधबार