प्रविधि

एसटीडी होइन, आजदेखि लोकल

काठमाडौं, साउन १- राजधानी बाहिरबाट काठमाडौं आएर बस्नुभएको छ र घरमा फोन गर्दा एसटिडीको शुल्क लाग्छ कि भन्ने चिन्ताले कम कुरा गर्नुहुन्छ भने अब ढुक्क हुनुहोस्- आजैदेखि एक रुपैयाँमै एसटीडी कल गर्न पाइने भएको छ।

आजदेखि लागू हुनेगरी नेपाल टेलिकमले मुलुकभरिका जुनसुकै जिल्लामा कल गर्दा लोकल कलबाटै गर्न सकिने व्यवस्था मिलाइसकेको छ। नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी ल्यान्डलाइन टेलिफोन सेवा तथा सिडिएमए मोबाइल फोनमा लगाउँदै आएको एसटिडी सुविधा हटाएपछि अब मात्र एक रुपैयाँमा नेपालभरिका जुनसुकै जिल्लामा पनि मज्जासँग गफ गर्न सकिने भएको हो।

'ग्राहकलाई एसटिडीको शुल्कबाट मुक्त गराउन र प्रतिष्पर्धी सेवा दिने उद्देश्यले यसअघि लगाउँदै आइएको एसटीडी कलको शुल्क हटाएर सबै जिल्लामा समानरुपमा एक रुपैयामै कल गर्न सकिने व्यवस्था मिलाएका हौं,' नेपाल टेलिकमकी सहप्रवक्ता गुणकेशरी प्रधानले भनेर

उनले अहिले पनि केही ग्राहकले एसटिडी लक लिइरहेका छन्, एसटीडी कल गर्न लिइएको त्यो लक लिनु नपर्ने व्यवस्था मिलाएको भन्दै यो सुविधा सिडीएमए कलमा पनि दिइएको बताए।

नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन सेवा तथा सिडिएमए सेवाबाट कम्पनीको अर्को अञ्चलमा रजिस्टर्ड भएको नेपाल टेलिकमको जिएसएम तथा सिडिएमए मोबाइल सेवामा कल गर्दा एसटीडी सुविधा चाहिने व्यवस्था थियो।

यो सुविधा अन्तरदेशीय सुविधा नभएका सम्पूर्ण ल्यान्डलाइन तथा सी-फोनबाट पनि अर्को अञ्चलमा रजिस्टर्ड भएको जिएसएम तथा सिडिएमए मोबाइल सेवामा कल गर्न सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।

कम्पनीको ल्याण्डलाइन तथा सी-फोनसेवाबाट कम्पनीको जिएसएम तथा सिडिएमए मोबाइलमा कल गर्दा मुलुकभरि प्रतिमिनेट कल एक रुपैयाँ (कर बाहेक)मात्र लाग्ने व्यवस्था गरिएको छ।

टेलिकमको यो सुविधाले अब दूरसञ्चार सेवा प्रदायकबीच उच्च प्रतिस्पर्धी हुने भएकाले अन्य कम्पनीले पनि यसमा पुनर्विचार गर्ने सम्भावना बढ्दै गएको छ। रासस

प्रकाशित: १ श्रावण २०६९ ०३:३२ सोमबार