प्रविधि

प्रविधिले घटायो अपराध

वीरगन्ज, असार २४ (नागरिक)- आधुनिक प्रविधि प्रयोगले आपराधिक घटनामा कमी ल्याएको वीरगन्ज प्रहरीले जनाएको छ। सार्वजनिक स्थानमा हुने बम विस्फोट, गोली प्रहार र अरु आपराधिक घटना अहिले पहिलेको भन्दा नियन्त्रित छ। 'वीरगन्जमा आपराधिक घटना हुने क्रममा धेरै नै कमी आएको छ,' वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी भन्छन्, 'घटनामा संलग्नहरु पक्राउ पर्ने क्र्रम बढेको छ, निश्चित रुपमा यसबाट उद्योगी व्यापारी र आम मानिसले राहत पाएका छन्।'
प्रहरीले प्रयोमा ल्याएको 'क्लोज सर्किट क्यामेरा' (सिसी क्यामरा) र अन्य प्रबिधिले अपराध घटाउन बल पुगेको उनको विश्वास छ।
वीरगन्जमा मोटरसाइकल चोरीको क्र्रम पनि निकै घटेको छ। सीमापारि भारतमा पुर्‍याएपछि सहजै बेचबिखन हुने भएकाले मोटरसाइकल चोरीका घटना लामो समयदेखि वीरगन्जको समस्या बनेको थियो। सहरका ४२ ठाउँमा सिसी क्यामेरा जडान गरिएपछि यो क्रम पनि घटेको प्रहरी सहायक निरीक्षक दीपककुमार गुप्ता बताउँछन्।
सिसी क्यामेरा जडानपछि साउन १ २०६८ यता ३१ वटा मोटरसाइकल चोरीका घटना भएको जिल्ला प्रहरीमा निवेदन छ। जसमा ४ वटा मोटरसाइकल बरामद गरिसकिइएको प्रहरीले जनायो। 'गत वर्ष यसै अवधिमा यसको तीन गुणा बढी संख्यामा मोटरसाइकल चोरी भएका निवेदन आएका थिए,' उनले भने।
१९ असारमा ड्युटीमा रहेका सहायक प्रहरी निरिक्षक श्यामबाबु यादवलाई आदर्शनगरमा कुटपिट गरेका कृष्णा पटेल उपर सिसी क्यामेरामा रेकर्ड गरिएको दृश्यलाई प्रमाण बनाई सार्वजनिक अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ। बैंकबाट झिकिएको रकम हराएपछि सिसी क्यामेरामै त्यो रकम फेला पार्नेलाई पहिचान गरी व्यवसायीलाई रकम फिर्ता गराइएको घटना पनि केही दिन अगाडि भएको थियो।
जनशक्ति अभावले काम प्रभावित हँुदै आएकोमा अहिले साविककै जनशक्तिबाट प्रविधि सहयोगले काम सहज भएको प्रहरीको भनाइ छ। 'सिसी क्यामेरा जडानपछि एकै ठाउँमा बसेर ४२ ठाउँको निगरानी गर्न पाइएको छ,' प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले भने, 'सिसी क्यामेराले गर्दा नै जेठ १४ अगाडि भएका आन्दोलन र प्रदर्शनहरुमा प्रहरी परिचालन र आवश्यक निर्देशन सजिलो भयो, कुनै अप्रिय घटना हुन पाएन।'
थप १८ ठाउँमा सिसी क्यामेरा राखिनेबारे बैंकका संचालक र व्यापारीसँग कुरा भइरहेको उनी बताउँछन्। यसअघि पनि निजी क्षेत्रकै सहयोगमा सिसी क्यामेरा लगाइएका थिए।
सेफर वीरगन्ज नामले संगठित नागरिक समाजको अगुवाइमा २५ लाख रुपैयाँको लागतमा ८ मंसिर २०६७ मा ४२ ठाउँमा सिसी क्यामेरा लगाइएको थियो। सेफर वीरगन्जका अध्यक्ष अमर गौतमले भने, 'क्यामेराले गर्दा मानिसहरु अनुशासित भएका छन्, प्रहरीहरु पनि सावधान भएर ड्युटी गर्ने गरेका छन्।'
यस्ता क्यामेराको संख्या वीरगन्जमा १ सय ५० वटा सम्म भविश्यमा पुर्‍याइनेछ,' गौतम भन्छन्, 'अबको प्रहरी आधुनिक र प्रविधियुक्त हुनैपर्छ।' प्रहरीभित्रबाटै कामको अनुगमन गर्न जेठ महिनाको सुरुदेखि पर्सा प्रहरीले प्रहरी नायब उपरीक्षकको कमान्डमा 'प्रोफेसनल स्ट्यान्डर युनिट' गठन गरिएको प्रहरी उपरीक्षक अधिकारी बताउँछन्। यसको मापनमा पनि सिसी क्यामेराबाट केही सहयोग मिलेको उनी बताउँछन्।
मादक पदार्थ सेवन गरे-नगरेको जाँच्ने मेसिन 'ब्रेथलाइजर', विस्फोटक पत्ता लगाउने 'मेटल डिटेक्टर,' राति सडकमा खट्दा प्रहरीले लगाउने 'रिफलेक्टिङ ज्याकेट' र रातो र हरियो संकेत बल्ने किसिमको प्रहरीले राति बोक्ने 'सिग्नल स्टिक' जस्ता प्रविधि पर्सा प्रहरीले प्रयोगमा ल्याएको छ। दुइटा वडा प्रहरी कार्यालयसँग जिल्ला प्रहरी कार्यालयले जानकारी आदान-प्रदान गर्न इन्टरनेटले सजिलो बनाएको प्रहरी उपरीक्षक अधिकारी बताउँछन्।
मुद्दा फाँटका प्रहरी नायब निरीक्षक युवराज चौधरीले भने, 'कम्प्युटर प्रयोगले काम गर्न सहज भएको छ।' प्रहरीले स्थानीय पत्रिकाको इमेलमै आधिकारिक सूचना पठाइदिने गरेको छ। स्थानीय पत्रकार कृष्ण उदास खनाल भन्छन्, 'यसरी सूचना इमेलमै आइदिएर सजिलो भएको छ।'

प्रकाशित: २३ असार २०६९ २३:५३ शनिबार