प्रविधि

सेती बाढी पीडितलाई फेसबुकमार्फत् सहयोग संकलन

पोखरा, जेठ ७ (नागरिक)- सामाजिक सञ्जाल फेसबुकबाट समाज सेवा गर्न सकिन्छ भन्ने उदाहरण बनेकी सरिता गुरुङले सेती बाढी पीडितका लागि पनि फेसबुकबाटै आर्थिक सहयोग जुटाउन थालेकी छिन्। उनले फेसबुक अभियानबाट पहिलो चरणमा संकलित ३५ हजार ४ सय १० रुपैयाँ रेडियो अन्नपूर्णद्वारा स्थापित 'अन्नपूर्ण राहत कोष'लाई शनिबार हस्तान्तरण गरेकी हुन्।
 

काठमाडौंबाट पोखरा आएकी उनले रेडियोमै पुगेर स्टेसन म्यानेजर दीपेन्द्र श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिन्। काठमाडौंको एक निजी कम्पनीमा कार्यरत सरिताले सहयोग बक्सबाट संकलन गरेको १ हजार ३ सय १० रुपैयाँ तथा फेसबुकमार्फत् बेलायतका कृष्ण गुरुङबाट १० हजार, ब्रुनाईका श्री थापाबाट १० हजार, दक्षिण कोरियाका धिरज गुरुङबाट ५ हजार १ सय, हङकङका विमल गुरुङबाट ५ हजार र दुवईका राजकुमार गुरुङबाट ४ हजार रुपैयाँ संकलन गरेकी हुन्।

यसअघि पनि सरिताले फेसबुकमार्फत् कास्कीकै मिर्गौला पीडित बुद्धिमाया गुरुङको उपचारका लागि पाँच लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाएकी थिइन्।
'एउटाको पिडामा सबैलाई दुख्नुपर्दछ भन्ने भावनाका साथ बाढी पिडितको चहराइरहेको घाउमा थोरै भए पनि मल्हम लगाउने प्रयास गरेकी हुँ, रकम हस्तान्तरण गर्दै सरिताले भनिन्,'पीडितको आँसु पुछ्न फेसबुकमार्फत् मानविय तथा सामाजिक सेवामा लागें।'

रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखेले सामाजिक अभियन्ता सरिता गुरुङलाई खादा लगाएर सम्मान गर्दै मानविय सेवामा अघि बढ्न प्रेरित गरिन्।

प्रकाशित: ६ जेष्ठ २०६९ १२:४० शनिबार