काठमाडौं, भदौ २९ (नागरिक) - नेपालमै बनेका सफ्टवेयरको प्रबर्द्धन गर्ने उद्देश्यले हुन लागेको 'मिदास क्यान सफ्टटेक' बिहीबारदेखि सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा हुने यो मेला बालबालिकालाई आवश्यक शैक्षिक र घरायसी काममा प्रयोग हुने कम्प्युटरसँग सम्बन्धित प्रविधि प्रदर्शनमा राखिने छ।
'सफ्टटेकको महŒव बढ्दै गएको छ, यसपटक धेरै कम्पनीले नयाँ प्रविधि र सफ्टवेयर सार्वजनिक गर्दैछन्,' कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का सचिव अमृत पन्तले भने। सफ्टटेकमा ४३ कम्पनीका ६३ स्टलहरु रहने छन्।
चार दिनसम्म चल्ने सफ्टटेकमा स्वदेश र विदेशी सफ्टवेयर, सोलुसन र सर्भिसेजहरु आकर्षणको हुने छन्। 'सफ्टटेकमा नेपाल र विदेशमा तयार भएका सफ्टवेयरहरु रहने छन्,' क्यानका अध्यक्ष सुरेशकुमार कर्णले भने।
सफ्टवेयरको प्रबर्द्धनपछि मात्र हार्डवयरको व्यवसाय विस्तार हुने भएकोले हरेक वर्ष यस्तो मेला आयोजना गर्ने कार्यक्रम छ। क्यानका महासचिव नारायण न्यौपानेका अनुसार नेपालमै सफ्टवेयरको विकासको निकै सम्भावना रहेको र धेरै कम्पनीले काम पनि गरिरहेको अवस्थामा त्यसलाई प्रबर्द्धन गर्न मेलाले सहयोगी भूमिका खेल्ने अपेक्षा आयोजकले गरेका छन्।
नेपालमै अन्तर्राष्ट्रिय स्तरका सफ्टवेयरहरु तयार भए पनि धेरैलाई यसबारेमा जानकारी छैन। अध्यक्ष कर्णले भने, 'तर नेपालमा बनेका सफ्टवेयरबारे धेरैलाई जानकारी नभएकाले यस्तो मेला आयोजना गरिएको हो।'
गत वर्ष जस्तै यसपटकको मेलालाई पनि मिदासले टाइटल प्रायोजन गरेको छ। शिक्षाको सफ्टवेयर बनाउँदै आएको मिदासले स्कुल, कलेजलाई उपयुक्त विभिन्न सफ्टवेयरसमेत यसपटक सार्वजनिक गर्ने योजना बनाएको छ।
सफ्टटेकमा बंगलादेशको कम्प्युटर समिति र भारतको एनआइआइटी र माइन्डमिलजस्ता ठूला कम्पनीले समेत यसपटक सहभागिता जनाउने भएका छन्।
यसपटक मेलामा एन्टिभाइरस कास्परस्कीले कर्पोरेट भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ। त्यस्तै इसेटले भर्सन-५ को एन्टिभाइरसको बिक्री सुरु गर्ने भएको छ। तारा इन्टरनेसनलले बिटडिफेन्डरको भर्सन २०१२ को बिक्री थाल्ने जनाएको छ।
गत वर्ष ४५ हजारले सफ्टटेक अवलोकन गरेकोमा यसपटक ५० हजारले अवलोकन गर्ने
अपेक्षा आयोजकको छ। पत्रकार सम्मेलनमा क्यानका उपाध्यक्ष किशोर पन्त, सचिव अमृत पन्तलगायत पदाधिकारीले मेला अवधिमा स्टल राख्नेले पालना गर्नुपर्ने नियमबारे जानकारी दिएका थिए।
यस पटकको सफ्टटेकमा इबज एसियाले पाँचसय जनालाई निशुल्क प्रवेश पासको व्यवस्था गर्दैछ। इबजको साइटमा गएर दर्ता भएपछि लक्की ड्रको माध्यमबाट पाँचसय जनालाई निशुल्क प्रवेश पास व्यवस्था गरिएको छ।
लागिएको कम्पनीकी प्रबन्धक सृष्टी आचार्यले जानकारी दिइन्। मेलामा इबज एसियाको साइटमा विभिन्न कम्पनीहरुले राख्ने सामानका बारेमा विवरण समेत राखिएको छ। यसपटकको सफ्टटेकलाई विज्ञान तथा प्रविधि, सञ्चार मन्त्रालय, सूचना प्रविधि उच्चस्तरीय आयोग, राष्ट्रिय सूचना प्रविधि केन्द्रलगायत संस्थाहरुले सहयोग गरेका छन्।
प्रकाशित: २९ भाद्र २०६८ ००:३० बिहीबार