प्रविधि

मोबाइल प्रदर्शनी सुरु

काठमाडौं, असोज १ (नागरिक) - मोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा 'मोबाइल एक्स्पो' सुरु भएको छ। आउँदो मंगलबारसम्म चल्ने यो एक्स्पोमा मोबाइल सेट र कम्प्युटरसँग सम्बन्धित उपकरणहरू छन्। नेपालमा बिक्री भैरहेका अधिकांश मोबाइल सेटका स्टल मेलामा छन्।

  'मेलामा सबै बिक्रेताहरुले छुट मूल्यमा सेटहरु बेचिरहेका छन्,' एसोसिएसनका अध्यक्ष अम्बिकाप्रसाद ढकालले भने। मेलामा ४६ वटा स्टलहरु छन्। नोकिया, सामसुङ, एलजी, कार्बन, स्पाइसलगायत नेपालमा नाम चलेका अधिकांश मोबाइल सेटहरु राखिएका छन्।

हराएको मोबाइल पत्ता लगाउने ट्र्याकर सिस्टम पनि मेलामा राखिएको छ। मेलाको उद्घाटन सञ्चारमन्त्री शंकर पोखरेलले गरेका थिए। कार्यक्रममा पोखरेलले सरकारले अहिले रहेको एक सय जनामा ३० जनासँगमात्र रहेको टेलिफोनलाई आउँदो तीन वर्षभित्र ५५ मा पुर्‍याउने लक्ष्य लिएको बताए। बढ्दो टेलिघनत्वसँगै मोबाइल सेटको व्यापार बढिरहेकाले नेपालमा सुहाउँदा र स्तरीय सेट ल्याएर बेच्न पनि उनले आग्रह गरे।

सरकारले हराएको मोबाइल पत्ता लगाउने प्रविधि ल्याउनको लागि सेवा प्रदायकहरुलाई निर्देशन दिइसकेको पनि मन्त्री पोखरेलले बताए। यसबाट मोबाइल हराउने र नपाउने समस्या थोरै भए पनि समाधान हुने उनले उल्लेख गरे।

 

प्रकाशित: ३१ भाद्र २०६७ १९:५७ बिहीबार