प्रविधि

एनसेलले सुरु गर्‍यो देशभर थ्रीजी मोबाइल सेवा

काठमाडौं, भदौ ३१ (नागरिक) - निजी क्षेत्रको पहिलो मोबाइल टेलिफोन सञ्चालक कम्पनी स्पाइस नेपाल (एनसेल) ले व्यवसायिक रुपमा थ्रीजी मोबाइल सेवा सुरु गरेको छ। एनसेलले देशभरि एकै पटक थ्रीजी सेवा सुरु गरेको हो।   मोबाइल टेलिफोनमै 'हाइस्पिड इन्टरनेट' चलाउन चाहनेको निम्ति एनसेलको थ्रीजी उपयुक्त हुने प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेनले बताए।

एनसेलको थ्रीजी सेवा लिन चाहनेको निम्ति अटोमेटिक रुपमा यो सेवा उपलव्ध हुने भएको छ। 'प्रिपेड र पोस्टपेड दुबै प्रकारका मोबाइलमा थ्रीजी सेवा लिन सकिन्छ, यसको लागि अहिले मोबाइल लिइसकेका उपभोक्ताले नम्बर परिवर्तन गर्नुपर्दैन,' उनले भने। अहिले एनसेलको सिमकार्ड प्रयोग गरिरहेका उपभोक्ताले थ्रीजी सेवा लिन थप शुल्क तिर्नुपर्दैन।

एनसेलको थ्रीजीबाट इन्टरनेट प्रयोग गर्दा प्रति मेगाबाइटको ६ रुपैयाँ तिर्नुपर्छ। प्रतिसेकेन्ड ३ दशमलव ६ मेगाबाइटको स्पिडमा थ्रीजी इन्टरनेट चलाउन सकिने विशेषता एनसेलको थ्रीजी सेवामा छ।

यो सेवा चलाउनको लागि थ्रीजी सुविधा भएको मोबाइल सेट चाहिन्छ। नेपालमा स्थापित र नाम चलेका कम्पनीका थ्रीजी सेटको मूल्य कम्तिमा नौहजार रुपैयाँबाट सुरु हुन्छ।

आगामी दुईसाताको निम्ति थ्रीजी मोबाइलबाट वालपेपर, गेम, रिङटोन लगायत सेवा निःशुल्क डाउनलोड गर्न सकिने एनसेलकी कर्पोरेट कम्युनिकेसन मेनेजर सन्जु कोइरालाले बताइन्।

नेपाल टेलिकमले साढे दुई वर्ष अघिबाट थ्रीजी मोबाइल सुरु गरेको हो। सुरुमा प्रिपेड मोबाइलबाट थालिएको थ्रीजी सेवा पाँच महिना अघिबाट पोष्टपेडमा पनि सुरु भएको छ। टेलिकमका पोष्टपेड मोबाइलका उपभोक्ताले सिमकार्ड परिवर्तन गरेर आफूले चलाइरहेकै नम्बरमा थ्रीजी सेवा लिन सकेपनि प्रिपेड प्रयोगकर्ताले भने नयाँ नम्बर लिनुपर्ने वाध्यता छ।

एनसेलको थ्रीजी मोबाइलबाट भिडियो कुराकानी गर्ने सुविधा भने उपलव्ध गराएको छैन। नेपालको लागि भिडियो कुराकानी त्यति प्रभावकारी नभएको धारणा एनसेलका अधिकारीहरुको छ।

प्रकाशित: ३० भाद्र २०६७ २३:४८ बुधबार