प्रविधि

सात जिल्लामा एसटिएमको मोबाइल

काठमाडौं, भदौ ३ (नागरिक) - मोबाइल टेलिफोन चलाउने अर्को कम्पनी थपिएको छ। चौथो टेलिफोन कम्पनीको रुपमा लाइसेन्स पाएको एसटिएम टेलिकमले मंगलबारदेखि लिमिटेड मोबिलिटी प्रविधिबाट मोबाइल टेलिफोन सुरु गरेको छ। एसटिएमले पश्चिमान्चल र सुदूर पश्चिमान्चल क्षेत्रका सात जिल्लामा लिमिटेड मोबिलिटी प्रविधिबाट मोबाइल टेलिफोन सुरु गरेको हो। यो कम्पनीले पाल्पा, बाग्लुङ्ग, बर्दिया, कन्चनपुर, दैलेख, डडेलधुरा र बैतडी जिल्लामा लिमिटेड मोबिलिटी प्रविधिबाट मोबाइल चलाउन थालेको हो।

लिमिटेड मोबिलिटी प्रविधिबाट अहिले नेपालमा युटिएलले मोबाइल टेलिफोन चलाइरहेको छ। यो कम्पनीलाई दूरसञ्चार प्राधिकरणले लिमिटेड मोबिलिटी प्रविधिबाट मोबाइल चलाउन अनुमति दिइसकेको छ। यसले विगत एक वर्षअघिदेखि परिक्षणको रुपमा लिमिटेड मोबिलिटी प्रविधिको मोबाइल चलाइरहेको थियो।

कास्कीको नयाँपुल र इलामको राँकेमा गरिएको परिक्षणबाट सफल भएपछि अहिले सात जिल्लामा मोबाइल सुरु गरेको हो।

सन् २००३ बाट नेपालमा भिस्याट प्रविधिबाट टेलिफोन चलाउन सुरु गरेको एसटिएमले अहिले ५३ जिल्लामा साढे ५ हजार लाइन टेलिफोन वितरण गरिसकेको छ। कम्पनीका अधिकारीहरुका अनुसार, यसले दुर्गम जिल्लाहरुमा टेलिमेडिसिन, टेलिसेन्टर र इन्टरनेट सेवा पनि सञ्चालन गरेको छ।

प्रकाशित: ३ भाद्र २०६७ ०३:३२ बिहीबार