प्रविधि

उठ्दै उठ्दैन मोबाइलको सोधपुछ

रामचन्द्र भट्ट, काठमाडौं, साउन २२- मोबाइल टेलिफोनको विषयमा जुनसुकै गुनासा र समस्या भए टिपाउने नम्बर हो, १४९८। तर, तपाईंले कत्तिको ख्याल राख्नुभएको छ, यो नम्बर चौबिसै घन्टा व्यस्त रहन्छ। लागिहाले पनि सही समाधान पाइँदैन।

‘सिमकार्ड हराएर ब्लक गर्न खोजेको, दिनभरि (डायल) गर्दा पनि फोन उठ्दै उठेन,' बालाजु नेपालटारका बद्री चालिसेले १४९८ प्रतिको गुनासो सुनाए, ‘३०/३५ पटक प्रयास गर्दा बल्लतल्ल सम्पर्क भएको थियो, एकजना महिलाले उठाएकी थिइन्, दुई मिनेटजति होल्डमा राखेपछि त्यत्तिकै लाइन काटियो।'


मोबाइल हराउँदा सिमकार्ड ब्लक गर्नेदेखि अन्य सबै सोधपुछ सेवाका लागि टेलिकमले यो नम्बर व्यवस्था गरेको हो। तर, यो लाइन धेरैजसो व्यस्तै रहन्छ। फोन लागिहाले पनि त्यहाँका कर्मचारी रिसिभर उठाएर बेपरवाह बसिदिन्छन्। १४ जनाले एकैपटक यो लाइनमा कुराकानी गर्न मिल्ने सुविधा भएपनि यहाँ एक सिफ्टमा ५/६ जना मात्र कर्मचारी हुन्छन्।


टेलिकमले पुल्चोकस्थित साझा यातायातको पुरानो भवनका दुई कोठामा मोबाइलको सोधपुछ सेवा थालेको हो। बिहीबार नागरिक संवाददाता पुल्चोक कार्यालय पुग्दा कर्मचारीहरूले घन्टीको स्वरबाट जोगिन रिसिभर उठाएर राखेको दृश्य देखियो। केही लाइनमा घन्टी बजिरहेको थियो। तर, त्यसमा कसैको ध्यान गएको थिएन। कर्मचारीहरू आफ्नै सुरमा भित्र-बाहिर गरिरहेका थिए। कोही घन्टी सुने-नसुन्यै गरी गफमा मस्त थिए।


संवाददाताले आफ्नो परिचय दिँदा केहीले ‘पत्रकारलाई यहाँ पस्न कसले दियो' भन्दै आपसमा मुखामुख गरे। ‘हाम्रा सबै सेवाको विषयमा त्यत्तिकै गुनासो छन्,' १४९८ मा काम गर्ने एक कर्मचारीले आफ्नो कमजोरी ढाकछोप गर्न खोजे। टेलिफोनमा बजिरहेको घण्टीलाई सुनेको नसुन्यै गरेर भित्र बाहिर गरिरहेका उनी व्यबस्थापनले सुधारमा ध्यान नदिएको भन्दै आफ्नो दोष पन्छाउदै थिए।

 

के हो १४९८?
१४९८ नम्बर टेलिकमले मोबाइलको समस्या सुन्न व्यवस्था गरेको लाइन हो। यसमा फोन गर्दा पैसा तिर्नुपर्दैन। तर, यसमा उपभोक्ताको समस्या समाधान हुनु त परै जाओस्, गुनासो गर्ने मौकासमेत पाइँदैन।


टेलिकमको वेबसाइटमा १४९८ लाई ‘ग्राहक सेवा केन्द्र नम्बर' भनिएको छ। यसमा फोन गर्दा जिएसएम पोस्टपेड र प्रिपेड मोबाइलका गुनासा र सूचना प्राप्त हुने जनाइएको छ।


मोबाइल सेवा निर्देशालयका निर्देशक जीवनरत्न शाक्यले थोरै ग्राहक हुँदा राखिएको सेवालाई ग्राहक वृद्धिसँगै बढाउन नसक्दा समस्या देखिएको बताए। निर्देशनालाय मोबाइलको सबै किसिमको समस्याको व्यवस्थापन गर्ने निकाय हो।


‘मोबाइलको सोधपुछ सेवा कसरी व्यवस्थित रूपमा चलाउन सकिन्छ भनेर उच्चस्तरीय कार्यदल गठन भएको छ,' उनले भने। सुरुमा १४९८ लाई सञ्चालनमा ल्याउँदा मोबाइल टावर बन्द भएको र कुन ठाउँमा नेटवर्क समस्या छ भन्ने जानकारीसमेत दिने उद्देश्य थियो।


टेलिकमकै कर्मचारीबाट १४९८ को सञ्चालन प्रभावकारी हुन नसकेपछि एक वर्षअघि यसलाई १९७ जस्तै करारमा दिने प्रस्ताव अघि बढाइएको थियो। तर, यो प्रस्ताव अघि रोकिएको छ। १९७ सेवा करारमा दिएपछि प्रभावकारी भएको टेलिकमको निष्कर्ष छ।

प्रकाशित: २१ श्रावण २०६७ २२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App