प्रविधि

स्मार्ट टेलिकमको मोबाइल सुरु

काठमाडौं, असार २६ (नागरिक) - देशको छैठौं दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले मोबाइल टेलिफोन सेवा सुरु गरेको छ। दूरसञ्चार प्राधिकरणबाट टेलिफोन नपुगेका ३ सय ९८ गाउँ विकास समितिमा सेवा पुर्‍याउन लाइसेन्स पाएको यो कम्पनीले 'लिमिटेड मोबिलिटी' मा आधारिक मोबाइल टेलिफोन सेवा सुरु गरेको हो।

'हामी सहरमा भन्दा गाउँमै किसान, स्थानीय व्यवसायीको आवश्यकता अनुसारका सेवा मोबाइलबाट दिने तयारीमा छौं,' स्मार्टका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्यले भने।

किसानका निम्ति आवश्यक कृषि उपजको मूल्यबारे जानकारी, मोबाइल मनी ट्रान्सफर, मोबाइलबाटै शिक्षा, स्वास्थ लगायत क्षेत्रमा स्मार्टले सेवा विस्तार गर्ने जनाएको छ।

यो कम्पनीलाई दूरसञ्चार प्राधिकरणले सुरुका अंक ९६१ रहनेगरी सीमित मोबिलिटीमा आधारित मोबाइल चलाउन नम्बर दिएको छ। सीमित मोबिलिटीअन्तर्गत एक जिल्लाबाट वितरण गरिएको मोबाइल अर्को जिल्लामा जाँदा कुराकानी गर्न सकिँदैन। लाइसेन्समा रहेका शर्त पूरा गरेपछि रोमिङ सुविधासमेत दिन सकिने प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

यो कम्पनीले पूर्वाञ्चल विकास क्षेत्रबाहेकका १७ जिल्लामा मोबाइल टेलिफोन चलाउन बेस ट्रान्सिभर स्टेसन (बिटिएस) निर्माण गरिसकेको छ। बज्राचार्यले एक वर्षभित्र ८० हजार ग्राहक बनाएर दूरसञ्चार प्राधिकरणको शर्तअनुसार थप मोबाइल फ्रिक्वेन्सी लिने अवस्थामा कम्पनी पुग्ने बताए।

कम्पनीले नुवाकोट, ललितपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मोबाइलको टावर निर्माण गरिसकेको छ। अहिल्यै स्मार्टको आफ्नै नेटवर्कमा कुराकानी गर्न मिल्छ। अरू कमपनीका टेलिफोनसँग कुराकानी गर्न इन्टरकनेक्सन गर्नुपर्छ। यसका लागि नेपाल टेलिकम, स्पाइस नेपाल, युटिएल लगायत कम्पनीलाई प्रस्ताव पठाएर छलफल भइहेको कम्पनीले जनाएको छ।

कम्पनीलाई प्राधिकरणले ३ सय ९८ गाविसमा टेलिफोन सेवा पुर्‍याउन दिएको निर्देशनअनुसार यसले एक सय गाविसमा भिस्याट प्रविधिबाट टेलिफोन पुर्‍याउने लक्ष्य लिएको छ। भिस्याटबाट २०६६ मंसिर ११ गते सेवा विस्तार सुरु भएको हो। सबै ठाउँमा भिस्याटबाट सेवा पुर्‍याउन सम्भव नभएको र यो महंगो हुनुका साथै सर्वसाधारणले सहज सेवा नपाउने भएकाले मोबाइलमा जान प्राधिकरणले अनुमति दिएको हो। यसका लागि गत पुसमा जिएसएम फ्रिक्वेन्सी प्राधिकरणले दिएको छ। स्मार्टले जिएसएम ब्यान्डमा २ दशमलव ४ मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ।

यो कम्पनीले चीनको हुवाई कम्पनीसँग मोबाइलको उपकरण किनेको छ। थोरै फ्रिक्वेन्सी भएकाले एउटा टावरबाट बढीमा ६ सय ग्राहकमात्र बनाउन सकिन्छ।

प्राधिकरणले यो कम्पनीलाई सात जिल्लामा तत्काल मोबाइल चलाउने स्वीकृतिसहित नम्बर दिइसकेको छ। 'थप १५ जिल्लाका लागि हामीले स्वीकृति मागेका छौं,' बज्राचार्यले भने।

प्राधिकरणको शर्तअनुसार ३ सय ९८ गाविसमा सेवा पुगिसकेपछि ती जिल्लाका सदरमुकाम र बजारमा समेत विस्तार गर्ने योजना कम्पनीले बनाएको छ। अहिले अनिवार्य रूपमा सेवा पुर्‍याउन शर्त तोकिएका ३३ जिल्लामा ५५ वटा टावर बनाउनुपर्छ। यसमध्ये ३२ वटा निर्माण पूरा भएर सञ्चालनमा आइसकेका छन्।

स्मार्टले भिस्याट र जिएसएम प्रविधिबाट सेवा विस्तार गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। यो कम्पनीको मुख्य लगानीकर्ता सिंगापुरको लालसाहु डिस्ट्रिब्युटर हो। कम्पनीमा उसको ७० प्रतिशत लगानी छ। त्यस्तै, नेपालको स्क्वारनेटको २० प्रतिशत र जिल्याट स्याटेलाइट इजरायलको १० प्रतिशत सेयर छ।

प्रकाशित: २५ असार २०६७ २२:३० शुक्रबार