प्रविधि

एक सय मोबाइल पिसिओ राखिने

काठमाडौं, असार २५ (नागरिक) - दूरसञ्चार प्राधिकरणले देशका एक सय ठाउँमा मोबाइल (घुम्ती) सार्वजनिक टेलिफोन कल सेन्टर राख्ने योजना बनाएको छ। रिक्सा वा साइकलजस्ता सवारी साधनमा राखिने यस्ता घुम्ती पिसिओलाई टेलिफोन नपुगेका ठाउँहरुमा राख्न प्राधिकरणले सहुलियत दिने तयारी गरेको छ। 'ग्रामीण दूरसञ्चार विकास कोष सल्लाहकार परिषदको बैठकले टेलिफोन नपुगेका एकसय ठाउँमा घुम्ती पिसिओ राख्ने निर्णय गरेको छ,' प्राधिकरणका सहायक निर्देशक मीनप्रसाद अर्यालले भने।

यस्तो पिसिओ भिस्याट, सिडिएमए र जिएसएम जुनसुकै प्रविधिबाट सञ्चालन गर्नको लागि सञ्चालकलाई प्राधिकरणले अनुदान दिने नीति लिएको छ। नयाँ आर्थिक वर्षको सुरुसँगै बजेट पास गरेर एक सय वटा घुम्ती पिसिओ चलाइने प्राधिकरणका बोर्ड सदस्य गिरेन्द्रराज अधिकारीले बताए।

एकै ठाउँमा मात्र नबसि यस्ता पिसिओ बिभिन्न ठाउँमा घुमाइने र त्यसबाट फोन गर्न वरिपरिका बासिन्दालाई सजिलो पर्छ। भारत, बंगलादेश, श्रीलंकालगायतका देशमा पनि यस्तो मोडल निकै लोकप्रिय छ। ती देशहरुमा अपांगले रिक्सामा राखेर मोबाइल पिसिओलाई गाउँगाउँमा डुलाउँछन्।

'परिषदको बैठकमा घुम्ती पिसिओ राखेर टेलिफोन नपुगेका गाउँहरुमा सेवा दिनुपर्ने माग आएको छ,' अधिकारीले नागरिकसँग भने। ग्रामीण दूरसञ्चार कोषमा अहिले दुई अर्ब १० करोड रुपैयाँ छ।

सबै दूरसञ्चार सेवा प्रदायकहरुले आफ्नो आम्दानीको दुई प्रतिशत रकम यो कोषमा तिर्नुपर्छ। सबै गाविसमा टेलिफोन पुर्‍याउन यो कोषमा रकम तिर्न अनिवार्य गरिएको छ। अहिले सबै गाविसहरुमा टेलिफोन पुगिसकेकोले यो कोषलाई घुम्ती पिसिओ र अप्टिकल फाइबर बिच्छ्याउनमा खर्च गर्ने योजना पनि प्राधिकरणले बनाएको छ।

देशका सबै जिल्लालाई अप्टिकल फाइबर नेटवर्कबाट जोड्न ६ अर्ब लगानी गर्नुपर्ने प्राधिकरणको अनुमान छ।

प्रकाशित: २४ असार २०६७ १६:३८ बिहीबार