प्रविधि

फर्कने भए अन्तरिक्षमा अड्किएका वैज्ञानिक

यस्तो पनि!

नयाँ अन्तरिक्ष यात्री टोली बोकेर स्पेसएक्सको रकेट क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा पुगेको छ। अब लामो समयसम्म अन्तरीक्षमा अड्किएका दुई जना वैज्ञानिक बुच विल्मोर र सुनिता विलियम्सलाई घर फर्कन सजिलो हुने भएको छ। उनीहरू जम्माजम्मी आठ दिनका लागि आइएसएसमा बस्ने गरी पुगेका थिए तर उनीहरूलाई फर्काउने अन्तरिक्षयानमा आएको प्राविधिक समस्याका कारण उनीहरू त्यहाँ नौ महिनाभन्दा बढी समय बस्नुपर्‍यो।

अन्तरिक्ष यात्रीहरू यस हप्ताको अन्त्यतिर पृथ्वीमा फर्कने तयारी गर्दै छन्। नासाको कमर्सियल क्रू प्रोग्रामका व्यवस्थापक स्टिभ स्टिचले उनीहरू फर्कने निधो भएपछि खुशी व्यक्त गरेका छन्। उनले भने, ‘बुच र सुनिताले उत्कृष्ट काम गरे। हामी उनीहरूलाई घर फर्काउन निकै उत्साहित छौं।’ बुच र सुनितालाई फर्काउन पुगेको स्पेसएक्सको रकेट ड्रयागनको प्रत्यक्ष प्रशारण गरिएको थियो। नयाँ साथीहरू पुगेकामा आइएसएसका अन्य वैज्ञानिक खुशी देखिएका थिए भने एकअर्कासँग अँगालो मारेका थिए।

आइएसएसमा कार्यरत् नासाका निक हेग र रोसकोस्मोसका अन्तरिक्ष यात्री अलेक्जान्डर गोर्बुनोभसँगै उनीहरूलाई रुस, जापान र अमेरिकाका दुई नयाँ अन्तरिक्ष यात्रीहरूले प्रतिस्थापन गर्नेछन्। दुई दिनको हस्तान्तरण प्रक्रियापछि पुराना टोली पृथ्वी फर्कने बताइएको छ। आइएसएसकी कार्यक्रमकी व्यवस्थापक डाना वेइगेलले भने मौसमको अवस्था अनुकूल नदेखिएकाले उनीहरू पृथ्वीमा फर्कन केही ढिलाइ हुन सक्ने बताएकी छन्। अन्तरिक्ष यात्रीहरूले आइएसएसमा बसेर खुशी भएको बताइरहेका छन्। सुनिता विलियम्सले यसलाई ‘खुसीको ठाउँ’ भनेकी छन् तर ओपन युनिभर्सिटीका डा. सिमोन बार्बरका अनुसार यो लामो बसाइले उनलाई व्यक्तिगत रूपमा असर पार्न सक्थ्यो।

‘जब तपाईंलाई एक हप्ताको लागि काममा पठाइन्छ तर त्यो करिब एक वर्षसम्म लम्बिन्छ भने त्यो निकै अप्रत्याशित हुन्छ,’ उनले भने, ‘यस्तो लामो बसाइले पारिवारिक जीवन अव्यवस्थित बनाएको हुन सक्छ।’ उनीहरूलाई चाँडै पृथ्वीमा फर्काउने तयारी गरिरहेका रकेटमा अनेक समस्या देखिएपछि उनीहरू फर्कने समय लम्बिँदै गरेको थियो। नासाले कुनै जोखिम लिन नचाहँदा बुच र सुनितालाई स्टारलाइनरबाट नभई स्पेसएक्सको ड्रयागन क्याप्सुलबाट फर्काउने निर्णय गरिएको हो।
प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ४ चैत्र २०८१ ०९:३४ सोमबार