प्रविधि

पहिलो दिन २२ सिमकार्ड वितरण

सन्तोष पोखरेल, पोखरा, असार ९ - नेपाल टेलिकमले मंगलबारदेखि पोखराबाट तेश्रो पुस्ताको (थ्रिजी) मोवाईल वितरण सुरु गरेको छ। टेलिकमले पहिलो दिन थ्रिजीका २२ सिमकार्ड बाँडेको छ। ती सबै पोष्टपेडका ग्राहक हुन्। टेलिकम पोखराका मोवाईल प्रमुख घनश्याम पाण्डेले पहिलो दिनको उपस्थितीलाई हामीले उत्साहप्रद ठानेको बताए। पाण्डेले पोखरामा प्रिपेड थ्रिजीको सिमकार्ड केहि समयपछि वितरण गरिने जानकारी दिए।

पोखरामा पाँचहजार थ्रिजी पोष्टपेडको सिमकार्ड आएको छ। 'अपुग भए थप सिमकार्ड मगाउँछौ' पाण्डेले भने। पाण्डेका अनुसार पहिलो दिन सिमकार्ड लिनेमा यहाँका व्यापारी र युवायुवति छन। भिडियोबाट कुराकानी गर्न पाईने भएकोले झनै आकर्षक बढ्ने उनले बताए।

पोखरामा थ्रिजी सेवा सुरु गर्नका लागि आठवटा नयाँ टावर बनाइएको छ। ती टावरसँग १५ हजार लाईन थ्रिजी फोन वितरण गर्न सकिने क्षमता रहेको टेलिकम पोखराले जनाएको छ।

थ्रिजी मोवाईल सेवा पाउने काठमाडौं पछि पोखरा दोश्रो शहर हो। टेलिकमले काठमाडौंमा करिब दुई वर्ष अघि यो सेवा सुरु गरेको थियो। काठमाडौंमा अहिले थ्रिजीका करिब ४ हजार ग्राहक छन्।

टेलिकमका अनुसार पोष्टपेडमा हाल प्रयोग गरिरहेको नम्बरमा समेत थ्रिजी सेवा लिन सकिनेछ। त्यसका लागि ग्राहकले २ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। तर नयाँ नम्बरसहित एकैपटक थ्रिजी पोष्टपेड सेवा लिन चाहने ग्राहकले २ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्छ। त्यसबापत १ हजार रुपैयाँ बराबरको कुरा गर्न सकिन्छ। पोष्टपेड थ्रिजी सेवा लिएका ग्राहकले मासिक न्यूनतम ३ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

त्यसैगरि प्रिपेड नम्बरमा थ्रिजी सेवा लिन चाहने ग्राहकले नयाँ नम्बर पाउनेछ। प्रिपेड थ्रिजी सेवा लिन चाहनेले १ हजार ५ सय रुपैयाँ तिरेर नयाँ नम्बर लिनुपर्नेछ। त्यसबापत प्रिपेडमा १ हजार रुपैयाँ बराबरको कुरा गर्न पाईनेछ।

थ्रिजी पोष्टपेडबाट 'भिडियो कल' गर्दा प्रतिमिनेट ४ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। भिडियो प्रयोग नगरी कुरा गर्दा प्रतिमिनेट १ रुपैयाँ ६० पैसा शुल्क तिरेपुग्छ। यसैगरि थ्रिजी प्रिपेडबाट भिडियो कल गर्दा प्रतिमिनेट ५ रुपैयाँ शुल्क पर्छ। थ्रिजी प्रिपेडबाट भिडियो प्रयोग नगरी कुरा गर्दा प्रतिमिनेट २ रुपैयाँ शुल्क पर्छ। दुवै शुल्कमा सरकारी कर थप लाग्नेछ।
थ्रिजी सेवामा एमएमएस, एसएमएस, जिपिआरएस लगायतका सुविधा समेत हुनेछन। थ्रिजी मोवाईल चलाउन चाहने ग्राहकले थ्रिजी सेवा भएको सेट खरिद गर्नुपर्नेछ।

प्रकाशित: ८ असार २०६७ २१:४२ मंगलबार