खेल

एनपिएलमा राम्रो गरेर राष्ट्रिय टिमको क्याम्पमा पर्न सकिँदैनः विनोद भण्डारी

सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले पहिलो सिजन राम्रो प्रदर्शन गर्दागर्दै पनि राष्ट्रिय टिमको क्याम्पमा नपरेको बताएका छन् ।

लुम्बिनी लायन्ससँगको जितमा अर्धशतक बनाएका विनोदले एनपिएलमा राम्रो गर्दा राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ भन्ने बारे विश्वस्त नरहेको संकेत गरेका छन् । एनपिएल आइसिसी टी ट्वान्टी विश्वकपको सेलेक्सन म्याच हो भन्न नसकिने विनोदको भनाइ छ । 

उनले ५० ओभर र टी ट्वान्टी फरम्याट दुवैमा छनोट उस्तै भएकाले राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिममा पर्छु भन्ने नलागेको भन्दै कटाक्ष गरेका छन् । एनपिएल र पिएम कप छनोट प्रतियोगिता हो भनेर भन्न नसकिने बताउँदै विनोदले पिएम कपमा टप फाइभ प्रदर्शन गर्ने खेलाडी नै राष्ट्रिय टोलीमा नपरेको उदाहरण दिए।  

एनपिएलको जारी सिजन चारमा चारै खेल जितेकाले टोलीको मनोवल पनि राम्रो रहेको उनको भनाइ छ । सबै खेलाडीको माइन्ड सेटमा सकारात्मक बनिरहेको बताउँदै उनले भने, मैदान प्रवेश गरेपछि सबै राम्रो प्रदर्शन गर्न नै जाने हो । टिममा राम्रो पावर हिटर भएकाले आफूलाई पनि बिना दबाब खेल्न सहज भएको छ।  

अहिले नै फाइनल जित्ने भन्ने नसोचेको उल्लेख गर्दै उनले हरेक खेलमा कसरी राम्रो खेल्ने भन्नेमा ध्यान दिएको बताए। 

प्रकाशित: ११ मंसिर २०८२ १७:५९ बिहीबार