खेल

विश्वकप सेमिफाइनल : सबैभन्दा बलियो फ्रान्स, कमजोर अर्जेन्टिना !

जुन ११ बाट सुरु भएको फिफा विश्वकप २०२६ अहिले अन्तिम चरणमा पुगेको छ। ४८ राष्ट्रको उपाधि यात्रामध्ये अब केवल चार टोली मात्र बाँकी छन्—फ्रान्स, स्पेन, इंग्ल्याण्ड र अर्जेन्टिना।

मंगलबार र बुधबार हुने सेमिफाइनलले जुलाई १९ मा न्यू जर्सीको फाइनलमा पुग्ने दुई टोलीको टुंगो लगाउनेछ।

फिफा वरियताका शीर्ष टोलीहरू, विश्व फुटबलका केही उत्कृष्ट खेलाडी र पछिल्ला विश्वकपका च्याम्पियनहरूको उपस्थितिले यसपटकको अन्तिम चारलाई अझ रोमाञ्चक बनाएको छ।

हालसम्मको प्रदर्शनका आधारमा उनीहरूको सम्भावनाको विश्लेषण यस प्रकार छ:

४. अर्जेन्टिना

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका प्रदर्शन यसपाली खस्कीएको देखिएको छ।

अर्जेन्टिनाले प्रतियोगितामा तुलनात्मक रूपमा सहज प्रतिद्वन्दी पाएको थियो। समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग खेल्दै नकआउट चरणमा केप भर्डे, इजिप्ट र स्विट्जरल्याण्डको सामना गरेको टोलीले अपेक्षाअनुसार प्रभुत्व जमाउन भने सकेको छैन।

केप भर्डे र इजिप्टविरुद्ध अर्जेन्टिनाले अन्तिम समयमा मात्रै जित निकाल्यो। क्वाटरफाइनलमा स्विट्जरल्याण्डविरुद्ध एलेक्सिस म्याक एलिस्टरको सुरुआती गोलपछि टोलीले लामो समयसम्म प्रभावकारी प्रहार गर्न सकेन।

स्विट्जरल्याण्ड १० खेलाडीमा सीमित भएपछि अर्जेन्टिनाले खेल नियन्त्रणमा राख्न सफल भयो। यदि विपक्षी पूर्ण टोलीसहित खेलिरहेको भए नतिजा फरक हुन सक्ने सम्भावना पनि थियो।

लियोनेल मेस्सीले इजिप्टविरुद्ध पुनरागमन जितपछि देखाएको भावनाले अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको स्पष्ट संकेत दिएको थियो। क्वाटरफाइनलमा पनि उनी आफ्नो उत्कृष्ट लयमा देखिएनन्।

यदि मेस्सीले सेमिफाइनलमा पुरानै जादु देखाउन सके भने अर्जेन्टिनाले इंग्ल्याण्डलाई लगातार तेस्रो विश्वकप नकआउटमा हराउने छ।

यदि अर्जेन्टिनाले कठिन परिस्थितिमा जित निकाले पनि स्पेन वा फ्रान्सजस्ता युवाले भरिएको टोलीविरुद्ध त्यही प्रदर्शन पर्याप्त हुने देखिँदैन।

३. इंग्ल्याण्ड

इंग्ल्याण्ड प्रतियोगिताभर उत्कृष्ट फुटबल नखेले पनि चौथोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।

क्वाटरफाइनलमा नर्वेमाथि उनीहरुले सङ्घर्णपूर्ण जित निकाले। प्रशिक्षक थोमस टुचेलले समेत टोली भाग्यमानी भएको स्वीकार गरे।

जुड बेलिङ्घमले निर्णायक क्षणमा टोलीलाई बचाएका थिए। गोल्डेन बुट दौडमा उनी मेस्सी र केलियन एमबाप्पेभन्दा केवल दुई गोलले पछि छन्।

बुकायो साका, एन्थोनी गोर्डन र मार्कस रासफोर्डको गति अर्जेन्टिनाका रक्षापंक्तिका लागि ठूलो चुनौती बन्न सक्छ।

मेक्सिकोविरुद्ध अन्तिम–१६ को खेलमा इंग्ल्याण्डले तीव्र काउन्टर–अट्याकमार्फत उत्कृष्ट प्रदर्शन गरेको थियो।

अर्जेन्टिनाविरुद्धको खेल केवल दुई टोलीबीचको भिडन्त मात्र होइन फुटबल इतिहासको अर्को अध्याय हुनेछ। १९८६ र १९९८ को विश्वकप प्रतिस्पर्धाको स्मृति फेरि दोहोरिनेछ।

यदि इंग्ल्याण्ड फाइनल पुग्यो भने फ्रान्स वा स्पेनलाई हराउन भने अझ कठिन हुनेछ।

२. स्पेन

स्पेनले यस विश्वकपमा सबैभन्दा बलियो रक्षात्मक प्रदर्शन गरेको छ।

बेल्जियमले क्वाटरफाइनलमा गोल गर्नु अघि स्पेनले लगातार ६४९ मिनेटसम्म कुनै गोल खाएको थिएन। प्रतियोगिताभर छ खेलमा विपक्षीलाई लक्ष्यमा केवल सात प्रहार गर्न दिएको तथ्याङ्कले उनीहरूको रक्षाको मजबुती देखाउँछ।

लामिन यामाल चोटपछि पुनः लयमा फर्किएका छन्। मिकेल मेरिनोले पोर्चुगल र बेल्जियमविरुद्ध निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्‍याए।

मिकेल ओयारजाबाल चार गोलसहित टोलीका सर्वाधिक गोलकर्ता हुन्। किशोर डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट प्रदर्शन गरे पनि अब उनले केलियन एमबाप्पे, माइकल ओलिसे र ओस्माने डेम्बेलेजस्ता तीव्र फरवार्डको सामना गर्नुपर्नेछ।

फ्रान्सविरुद्धको सेमिफाइनल स्पेनको अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा हुनेछ। यदि स्पेन फाइनल पुग्यो भने उपाधिको बलियो दाबेदार बन्नेछ।

१. फ्रान्स

फ्रान्स प्रतियोगिताको सबैभन्दा बलियो टोलीका रूपमा उभिएको छ। रक्षापंक्तिले प्रतियोगिताभर केवल दुई गोल खाएको छ भने आक्रमणमा टोलीको गतिको सामना गर्न सक्ने अर्को टोली देखिएको छैन।

केलियन एमबाप्पेले मोरक्कोविरुद्ध थप गोल गर्दै गोल्डेन बुट दौडमा आफ्नो दाबी बलियो बनाए। उनीसँगै माइकल ओलिसे, ओस्माने डेम्बेले, डिजायर डु र ब्राडली बार्कोलाले निरन्तर विपक्षी रक्षापंक्तिमा दबाब सिर्जना गरिरहेका छन्।

स्पेनको संगठित रक्षापंक्तिले फ्रान्सलाई कठिन चुनौती दिनेछ। डानी ओल्मो, एलेक्स बाइना, फेरान टोरेस, फाबियन रुइज र सुपर–सब मिकेल मेरिनोको उपस्थितिले स्पेनलाई खतरनाक बनाएको छ। तर फ्रान्ससँग व्यक्तिगत प्रतिभा, गति र अनुभवको संयोजन अन्य कुनै टोलीसँग भन्दा बढी देखिन्छ।

यदि फ्रान्सले स्पेनलाई पराजित गर्न सफल भयो भने उपाधि जित्ने सबैभन्दा बलियो टोलीका रूपमा फाइनलमा प्रवेश गर्नेछ।

उपाधि सम्भावना (र्याङ्किङ)

१. फ्रान्स – उत्कृष्ट आक्रमण, बलियो रक्षा र प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोली।

२. स्पेन – उत्कृष्ट रक्षात्मक संरचना, नियन्त्रणमा आधारित खेल र सामूहिक प्रदर्शन।

३. इंग्ल्याण्ड – संघर्ष गर्दै जित निकाल्ने क्षमता भए पनि निरन्तर उत्कृष्ट प्रदर्शनको अभाव।

४. अर्जेन्टिना – अनुभव र मेस्सीको प्रभाव अझै बलियो भए पनि हालसम्मको प्रदर्शनले उपाधि रक्षा कठिन देखिएको छ।

विश्वकप अब अन्तिम मोडमा पुगेको छ। सेमिफाइनलमा अर्जेन्टिना–इङ्गल्याण्ड र फ्रान्स–स्पेनबीच हुने दुई भिडन्तले विश्व फुटबलको नयाँ च्याम्पियन को बन्नेछ भन्ने दिशा तय गर्नेछ। चार टोलीमध्ये प्रत्येकसँग इतिहास र प्रतिभा छ तर हालसम्मको प्रदर्शनका आधारमा फ्रान्स सबैभन्दा बलियो दाबेदारका रूपमा अगाडि देखिएको छ।

प्रकाशित: २९ असार २०८३ १४:४६ सोमबार