खेल

विश्वकप सेमिफाइनल: भारतले इंग्ल्याण्डलाई दियो २५४ रनको विशाल लक्ष्य

आइसीसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा घरेलु टोली भारतले इंग्ल्याण्डसामु जितका लागि २५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रनको योगफल तयार पारेको हो।

भारतका लागि विकेटकिपर ब्याटर सञ्जु सामसनले सर्वाधिक ८९ रनको आक्रामक इनिङ खेले। ओपनिङमा आएका सामसनले मात्र ४२ बलको सामना गर्दै ८ चौका र ७ छक्का प्रहार गरे।

टोलीको स्कोर उकास्ने क्रममा शिवम दुबेले २५ बलमा ४३ रन र ईशान किशनले १८ बलमा ३९ रनको योगदान दिए। तल्लो क्रममा आएका हार्दिक पाण्ड्याले १२ बलमा २७ रन तथा तिलक वर्माले ७ बलमा २१ रन जोड्दै इनिङलाई २ सय ५० कटाउन मद्दत गरे। ओपनर अभिषेक शर्मा ९ रन र कप्तान सूर्यकुमार यादव ११ रनमा आउट भएका थिए।

बलिङतर्फ इंग्ल्याण्डका विल ज्याक्स र आदिल रशिदले समान २-२ विकेट लिए। जोफ्रा आर्चरले १ विकेट हात पारे पनि उनी निकै महँगो साबित भए। आर्चरले ४ ओभरमा ६१ रन खर्चिएका थिए। साम करनले ४ ओभरमा ५३ रन दिए पनि कुनै विकेट लिन सकेनन्।

अब केही बेरमा इंग्ल्याण्डले जवाफी ब्याटिङ थाल्नेछ।

प्रकाशित: २१ फाल्गुन २०८२ २१:१० बिहीबार