खेल

विश्वकप फाइनलको टिकट १७ लाख रुपैयाँभन्दा महँगो

आइतबार राति हुने फिफा विश्वकप फुटबलको फाइनल खेलको टिकट अमेरिकी खेलकुद इतिहासकै सबैभन्दा महँगो हुने भएको छ। अर्जेन्टिना र स्पेनबीच हुने फाइनलका लागि टिकटको औसत मूल्य ११ हजार ३२७ अमेरिकी डलर (करिब १७ लाख ४३ हजार रुपैयाँ) पुगेको छ।

अमेरिकी सञ्चारमाध्यम यूएसए टुडेका अनुसार टिकपिक, स्टबहब, सिटगिक र गेमटाइमजस्ता सेकेन्डरी टिकट बजारमा समेत सबैभन्दा सस्तो टिकटको मूल्य ७ हजार ३०० देखि ८ हजार अमेरिकी डलरसम्म पुगेको छ।

अमेरिकाको न्युजर्सीस्थित इस्ट रदरफोर्डको मेटलाइफ स्टेडियममा हुने फाइनलमा विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसी सम्भावित अन्तिम विश्वकपमा अर्को उपाधि जित्ने लक्ष्यमा छन् भने स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने प्रयासमा छ।

यिनै कारणले फाइनल प्रत्यक्ष हेर्न चाहने दर्शकको माग अत्यधिक बढेको बताइएको छ। टिकट बिक्री कम्पनी टिकपिकका अनुसार यसपटकको विश्वकप फाइनल अमेरिकी इतिहासकै सबैभन्दा महँगो खेलकुद प्रतियोगिताको टिकट बनेको छ।

टिकपिकका उपाध्यक्ष म्याट फेरेलले यो विश्व फुटबलको ऐतिहासिक क्षण भएकाले टिकटको माग अभूतपूर्व रूपमा बढेको बताए। उनका अनुसार फाइनलमा जुनसुकै टोली पुगे पनि टिकटको माग उच्च हुने अपेक्षा गरिए पनि अर्जेन्टिना र स्पेनको भेटपछि मूल्य थप चुलिएको हो।

बिहीबारसम्म टिकपिकमा सबैभन्दा सस्तो टिकट ७ हजार ४०२ डलरमा उपलब्ध थियो। स्टबहबमा ८ हजार १८ डलर, गेमटाइममा ७ हजार ३६२ डलर र सिटगिकमा ७ हजार ७१९ डलरसम्म मूल्य पुगेको छ।

फेरेलका अनुसार सेमिफाइनलअघि फाइनल टिकटको न्यूनतम मूल्य करिब ६ हजार डलर रहेको थियो। अर्जेन्टिना र स्पेनले फाइनलमा स्थान सुरक्षित गरेपछि टिकटको मूल्य थप वृद्धि भएको हो।

अमेरिकामा फुटबलप्रतिको बढ्दो आकर्षण, विश्वकप फाइनलको महत्व तथा मेसीको सम्भावित अन्तिम विश्वकपजस्ता कारणले पनि टिकटको माग असाधारण रूपमा बढेको विश्लेषण गरिएको छ।

फेरेलका अनुसार सेमिफाइनल र फाइनलबीचको छोटो समयका कारण टिकटको मूल्य घट्ने सम्भावना न्यून छ। बरु अन्तिम समयमा थप माग बढेमा मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

(यूएसए टुडेमा आधारित)

प्रकाशित: १ श्रावण २०८३ २०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App