विश्व फुटबलकै इतिहासमा सबैभन्दा ठूलो मानिएको फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ।
मेक्सिकोको प्रतिष्ठित एज्टेका रंगशालामा बिहीबार राति (शुक्रबार बिहान) भएको तनावपूर्ण र रोमान्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गरेको हो। चार वर्षअघि कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको निराशालाई बिर्सिँदै मेक्सिकोले ८० हजार ८२४ घरेलु दर्शकमाझ सुखद् सुरुआत गर्यो। उद्घाटन खेलमै तीनवटा रातो कार्ड देखाइएको विश्वकप इतिहासकै यो पहिलो घटना हो।
घरेलु मैदानमा उच्च दबाब र अपेक्षासहित उत्रिएको मेक्सिकोले खेलको नवौँ मिनेटमै सुरुवाती अग्रता लियो। साउदी लिगका सर्वाधिक गोलकर्ता तथा कोलम्बियामा जन्मिएका २९ वर्षीय फरवार्ड जुलियन क्विनोनेसले इरिक लिराको पासलाई सदुपयोग गर्दै गोल गरे। विश्वकपमा डेब्यु गरिरहेका क्विनोनेसको यो गोलले एज्टेका रंगशालामा उपस्थित हजारौँ दर्शकलाई उत्साहित बनायो।
दोस्रो हाफमा खेल थप तनावपूर्ण बन्यो। खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदान छाडे, जसका कारण दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भयो। ६७औँ मिनेटमा मेक्सिकोका अनुभवी स्ट्राइकर राउल जिमेनेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। जिमेनेजको यो तीनवटा विश्वकप प्रतियोगिताहरूमा पहिलो गोल हो।
८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा खुम्चियो। खेलको अन्त्यतिर इन्जुरी समयमा मेक्सिकोका डिफेन्डर सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए। विश्वकपको उद्घाटन खेलमै तीन वटा रातो कार्ड दिइएको यो पहिलो पटक हो। यसअघि सन् २००६ को विश्वकपमा पोर्चुगल र नेदरल्यान्ड्सबीचको खेलमा सर्वाधिक चार वटा रातो कार्ड दिइएको इतिहास छ।
नोभेम्बर २०२० मा आर्सनलविरुद्धको प्रिमियर लिग खेलका क्रममा टाउकोको हड्डी भाँचिएर गम्भीर घाइते भएका जिमेनेज अहिले पनि सुरक्षात्मक हेडगार्ड लगाएर खेल्छन्। यस खेलको गोलसँगै उनले मेक्सिकोका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा जारेड बोर्गेट्टीसँग दोस्रो स्थान (४६ गोल) मा बराबरी गरेका छन्। उनी शीर्ष स्थानमा रहेका जेभियर 'चिचारिटो' हर्नान्डेजभन्दा ६ गोलले मात्र पछि छन्।
सन् १९८६ मा मेक्सिकोले विश्वकप आयोजना गर्दा खेलाडीका रूपमा मैदान उत्रिएका मेक्सिकन प्रशिक्षक जेभियर अगुइरेले जितमा खुसी व्यक्त गर्दै भने, 'मैले युवा खेलाडीहरूलाई घरेलु मैदानमा विश्वकप खेल्नुको अर्थ बुझाउने प्रयास गरेको थिएँ, तर उनीहरूले आफैँ यो अनुभव गरे। जितबाट सुरुवात गर्नु सधैँ राम्रो हुन्छ, यद्यपि हामीमा अझै सुधार गर्ने ठाउँ छ।'
उता दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले हारप्रति निराशा व्यक्त गर्दै यो स्तर आफूहरूले सोचेभन्दा माथिको रहेको र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए।
यस जितसँगै समूह 'ए' मा रहेको मेक्सिकोले महत्त्वपूर्ण तीन अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा बलियो उपस्थिति जनाएको छ। मेक्सिकोले अब अर्को शुक्रबार ग्वाडालाजारामा दक्षिण कोरियाको सामना गर्नेछ भने दक्षिण अफ्रिकाले सोही दिन एटलान्टामा चेक गणतन्त्र (चेक रिपब्लिक) सँग खेल्नेछ।
यसै समूह अन्तर्गत आजै बिहान ७:४५ बजे हुने अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ। एजेन्सी
प्रकाशित: २९ जेष्ठ २०८३ ०६:२६ शुक्रबार