शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लबको हारसँगै जारी महिला राष्ट्रिय फुटबल लिग छनोटमा समूह ‘ए’ को होड रोमाञ्चक बनेको छ।
समूहका शीर्ष दुई टोली सीधै राष्ट्रिय महिला लिगमा छनोट हुने प्रावधान छ। दुवै लिग खेल अन्तिम चरणमा पुग्दा समूहबाट छनोटका लागि प्रतिस्पर्धा रोमाञ्चक बनिरहेको छ। समूह ‘ए’ बाट दुई टोली नै छनोट हुन बाँकी छन्। समूह ‘बी’ बाट संकटा छनोट भइसकेको छ। सीधै छनोटबाट चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउँदा तेस्रो स्थानमा रहेका दुई टोलीबीच प्लेअफमा प्रतिस्पर्धा हुनेछ। राप्ती फुटबल क्लबले बुधबार चर्च ब्वाइजलाई २–१ ले हराएसँगै समूह ‘ए’ बाट छनोट रोमाञ्चक बनेको हो। यो नतिजासँगै शीर्ष चारका टोली राप्ती, चर्च ब्वाइज, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब र छहारी युवा क्लबको छनोट हुने सम्भावना देखिन्छ।
लिगको ६ खेल पूरा गरिसकेको राप्तीको १३ अंक छ। समान एक खेल बाँकी रहेका चर्च ब्वाइज र आरएस रिसोर्टको समान १२ अंक छ। चर्च ब्वाइज र आरएस रिसोर्टले समान एक खेल खेल्न बाँकी छ। एक खेल नै बाँकी रहेको चौथो स्थानको छहारीको १० अंक छ। आगामी शनिबार अन्तिम खेलमा चर्च ब्वाइज र छहारी युवा क्लब भिड्नेछन्। यो खेलले नै छनोट हुने अर्को टोलीको टुङ्गो लाग्नेछ। आरएस रिसोर्टले भने बिहीबार नै स्टुडेन्ट फुटबल क्लबसँग खेल्नेछ। यो खेलमा बराबरी या जितले नै आरएस रिसोर्टलाई राष्ट्रिय लिगमा स्थान बनाउन पर्याप्त हुनेछ।
चर्च ब्वाइजले राष्ट्रिय लिगमा छनोट हुन एक अंक आवश्यक रहेको अवस्थामा बुधबार राप्तीलाई नतिजा सुम्पिएको हो। राप्तीका लागि मनीषा सेनले गोल गरिन्। एक गोल राप्तीले आत्मघाती उपहार प्राप्त गर्यो। चर्च ब्वाइजका लागि माया मास्केले गरेको गोल सान्त्वना बन्यो। चर्च ब्वाइजले अन्तिम तथा निर्णायक खेलमा शनिबार छहारी युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। चौथो स्थानको छहारीलाई अन्तिम लिग खेलमा जितबाहेक अन्य विकल्प हुने छैन। अर्को समूह ‘बी’ को न्युरोड कर्नर टिम (एनआरटी) पनि बुधबार बुटवल लुम्बिनी एफसीमाथि २–० को जितसँगै एन्फा राष्ट्रिय लिगमा छनोटनजिक पुगेको छ।
एनआरटीको जितमा जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गरे। यो समूहबाट संकटा छनोट भइसकेको छ। अब सीधै छनोट हुनका लागि एक स्थान बाँकी छ। अब एनआरटीसँगै तेस्रो स्थानको झापाको सम्भावना छ। यो जितसँगै एनआरटीले पाँच खेलबाट १२ अंक जोड्यो। यो जितपछि पनि एनआरटी दोस्रो स्थानमा यथावत् छ।
समान पाँच खेल खेलेको झापा ९ अंकसहित तेस्रो स्थानमा छ। छैटौं चरणको खेलमा तेस्रो स्थामा रहेको झापा एफसीले बराबरी गरेको खण्डमा एनआरटी यो समूहबाट राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टोली बन्नेछ। अन्तिम लिग खेलमा झापाले बिहीबार लम्की फुटबल ट्रेनिङ सेन्टरसँग र एनआरटीले शुक्रबार संकटा क्लबसँग खेल्नेछन्।
प्रकाशित: १९ भाद्र २०८२ ०७:४४ बिहीबार