फिफा विश्वकप २०२६ का सह–आयोजक मेक्सिकोका राष्ट्रिय फुटबल टोलीका खेलाडी र प्रशिक्षकहरूले अमेरिकी युट्युबर तथा कन्टेन्ट क्रिएटर स्टिभविलडुइटले उपहारस्वरूप दिएका महँगा रोलेक्स घडी फिर्ता गरेका छन्।
स्टिभविलडुइटले मेक्सिको टोलीका प्रत्येक खेलाडी र टोलीका सदस्यका लागि करिब १० लाख अमेरिकी डलर (झण्डै ७ लाख ४७ हजार पाउन्ड) बराबरका रोलेक्स घडी खरिद गरेको बताएका थिए। उनले अन्तिम–३२ चरणमा इक्वेडरविरुद्धको खेलअघि टोलीसँग भेट गर्दै उक्त उपहार हस्तान्तरण गरेका थिए।
तर फिफाको आचारसंहिताअनुसार खेलाडी, प्रशिक्षक वा प्रतियोगितासँग सम्बन्धित व्यक्तिले केवल सांकेतिक वा सामान्य मूल्यका उपहार मात्रै स्वीकार गर्न पाउने व्यवस्था छ। महँगा उपहार स्वीकार गर्नु आचारसंहिताविपरीत हुने भएकाले मेक्सिको टोलीले आपसी सहमतिमा सबै घडी फिर्ता गर्ने निर्णय गरेको जनाएको छ।
मेक्सिको फुटबल टोलीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा स्टिभविलडुइटले आफ्नै पहलमा उपहार दिएको र टोलीले फिफाको नियमको सम्मान गर्दै ती घडी फिर्ता गरेको उल्लेख गरेको छ।
यसैबीच, मेक्सिकोले विश्वकपको अन्तिम–१६ चरणमा नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजे मेक्सिको सिटीस्थित अज्टेका रंगशालामा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। सन् १९८६ मा घरेलु मैदानमा विश्वकप आयोजना गरेयता पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाउने लक्ष्यसहित मेक्सिको मैदान उत्रिने तयारीमा छ।
प्रकाशित: २१ असार २०८३ १५:४७ आइतबार