खेल

अर्जेन्टिनाविरुद्ध एम्बोलोले किन पाए रातो कार्ड ?

फिफा विश्वकप अन्तर्गत आइतबार भएको क्वाटरफाइनल खेलमा स्विट्जरल्याण्डका ब्रेल एम्बोलोले अर्जेन्टिनाविरुद्ध रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

क्यान्सास सिटीमा भएको खेलको ७२ औं मिनेटमा आउट भएपछि एम्बोलो गलत पहिचानको लागि दण्डित हुने पहिलो खेलाडी बने।

२९ वर्षीय एम्बोलोले अर्जेन्टिनाका मिडफिल्डर लियान्ड्रो पारेडेससँगको ट्याकलमा डाइभ लगाएको जस्तो देखिएको थियो। रेफ्रीले पारेडेसलाई फाउलको संकेत गर्दै उनलाई पहेँलो कार्ड देखाए।

पछि पारेडेसले यसमा आफ्नो गल्ती नभएको बताएपछि र खेलाडीहरुको आग्रह पछि भिडियो अस्टिेन्ट रेफ्री (भीएआर) मा जाने निर्णय गरे र मैदान छेउको मोनिटरमा घटना पुनः अवलोकन गरे।

रिप्लेमा पारेडेससँग एम्बोलो सम्पर्क हुनुअघि उनी आफैं लडेको देखिएपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरे र पारेडेसको पहेलो कार्ड रद्द गरी एम्बोलोलाई पहेँलो कार्ड दिए।

यसअघि खेलको ४४औँ मिनेटमै फउल गरेपछि पहेँलो कार्ड पाइसकेका एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएसँगै उनले रातो कार्ड पाए।

स्विस खेलाडीहरू र बेन्चले रेफ्रीसँग विरोध गरेका थिए। तर कुनै फाइदा भएन। एम्बोलो पनि मैदानबाट रुँदै बाहिरिए। एम्बोलोको बहिर्गमनसँगै बाँकी समयमा स्विट्जरल्यान्ड १० खेलाडीमा खेल्न बाध्य भए।

यस खेलमा स्विट्जरल्यान्ड १–३ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। फुलटाइममा खेल १–१ को बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १२०+१ मिनेटमा लाउटारो मार्टिनेज र ११२ औं मिनेटमा जुलियन अल्भारेज गोल गरेपछि अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई हराएको थियो।

सेमिफाइनलमा पुगेको साविक विजेता अर्जेन्टिनाले अब इङ्ल्यान्डसँग खेल्नेछ।

प्रकाशित: २८ असार २०८३ ११:३९ आइतबार