‘तिमी यति धेरै क्रिकेट स्टारहरूसँग खेल्छौ। त्यति बेला उनीहरूसँग किन सेल्फी लिँदैनौं।’ बिलाल अहमद दारले एकपटक आफ्ना कान्छा भाइजस्तै उमेरका आफन्त अकिब नबीलाई सोधेका थिए। अकिबले मुस्कुराउँदै एक दिन लिनेछु भनेर जबाफ दिए।
‘एक दिन म त्यस्तो ठाउँमा पुग्नेछु, जहाँ उनीहरू मसँग सेल्फी खिच्न चाहनेछन्,’ अकिबले भने। अन्ततः वर्षौंपछि उनको त्यो भविष्यवाणी सत्य साबित भएको छ। २९ वर्षे अलराउन्डर अकिब नबी श्रीलंकाविरुद्ध हुने दुई टेस्ट शृंखलाका लागि सोमबार भारतीय टोलीमा परेका छन्। जसप्रीत बुमराहको स्थानमा टोलीमा समावेश गरिएका अकिब जम्मु काश्मीरबाट भारतको टेस्ट टोलीमा स्थान बनाउने पहिलो क्रिकेटर हुन्। श्रीलंकासँगको दुई टेस्टको शृंखला १५ अगस्टबाट सुरु हुँदै छ। काश्मीरमा सधैँ द्वन्द्व, बहुत जाडो र सीमित पूर्वाधार छन् तर अवसरहरू सीमित रहेको क्षेत्रमा अकिबको छनोटलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। उनी बारामुला जिल्लाको एउटा सानो गाउँमा हुर्किएका हुन्।
अकिबले सीमित पूर्वाधार र अवसरबीच स्थानीय मैदानमै क्रिकेट खेल्दै आफ्नो बाल्यकाल बिताए। उनका बुबा गुलाम नबी डार विद्यालयका शिक्षक थिए। सुरुमा उनी छोरा पढाइमा केन्द्रित भएर डाक्टर बनेको हेर्न चाहन्थे। ‘क्रिकेटमा कुनै भविष्य देखिँदैनथ्यो। खेलकुदमा लाग्नु समय खेर फाल्नुजस्तै हो भन्ने हाम्रो सोच थियो। त्यसैले मैले अकिबलाई पढाइमा ध्यान दिन जोड दिएको थिएँ,’ गुलामले भने तर क्रिकेटप्रति अकिबको दृढताले अन्ततः उनका बुबाको सोच परिवर्तन गरिदियो। ‘क्रिकेटप्रति उसको लगाव देखेपछि निर्णय स्विकारेँ। अभिभावक र शिक्षकका रूपमा उसलाई मन नपरेको काम गर्न बाध्य पार्नु हुँदैन भन्ने महसुस भयो। त्यसपछि मैले समर्थन गर्न थालें,’ उनी भन्छन्।
अकिबका बाल्यकालका साथी जुनैद दारले पनि व्यावसायिक क्रिकेट खेल्ने सम्भावना कम देखिने वातावरणमा आफूहरू हुर्किएको सम्झन्छन्। ‘अकिब बाल्यकालदेखि नै क्रिकेटमा डुबेको थियो। तिमी किन यति धेरै गरिरहेका छौ भन्थेँ ? यसमा कुनै भविष्य छैन,’ जुनैदले भने, ‘हामी यस्तो ठाउँबाट आएका हौं, जहाँ व्यावसायिक रूपमा खेल्ने अवधारणा नै थिएन। पूर्वाधार पनि न्यून छ।’
आफ्नो सपना पूरा गर्न अकिब करिब ७० किलोमिटर यात्रा गरेर श्रीनगर पुग्थे। जहाँ उनले स्तरीय क्रिकेट पिचमा अभ्यास गर्ने अवसर पाउँथे। आफ्नो पहिलो क्रिकेट छनोटमा सहभागी हुँदा उनीसँग स्पाइक जुत्तासमेत थिएन। तर उनको मेहनतमा कहिल्यै कमी आएन।
‘अकिब निकै मेहनती र निरन्तर प्रयास गर्ने खेलाडी हो। अफ्ठयारोसँग कसरी लड्ने र आफ्नो बाटो कसरी बनाउने उसलाई थाहा छ,’ बिलालले भने,‘ऊ बिहानै उठेर जिम जान्थ्यो। त्यसपछि दिनभर अभ्यास गथ्र्यो। करिब १० वर्षसम्म लगभग हरेक दिन यही गर्यो।’
उनको निर्णायक मोड सन् २०२० रह्यो। उनले जम्मु काश्मीरका लागि भारतको प्रमुख घरेलु प्रतियोगिता रणजी ट्रफीमा डेब्यु गरे। झारखण्डविरुद्ध उनले पाँच विकेट लिए। जम्मु–काश्मीरबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो क्रिकेटर तथा अकिबका कप्तान पर्वेज रसुलले अकिबमा विशेष गुण रहेको बताए। ‘मैले लामो समयदेखि उनको प्रगति हरेको छु। उसमा सबैभन्दा उल्लेखनीय कुरा उसको मेहनत र अनुशासन हो,’उनले भने। तर उनको सफलता रातारात आएको भने होइन।
सन् २०२४–२५ को रणजी ट्रफी सिजनमा अकिबले ४४ विकेट लिए। प्रतियोगिताकै सर्वाधिक विकेट लिने उनी तीव्र गतिका बलर बने। यद्यपि उनी राष्ट्रिय टोलीको चर्चाबाट भने अझै टाढै थिए। ‘राम्रो प्रदर्शन गर्दा पनि पहिचान नपाउँदा दुःख लाग्छ,’ उनका बुबा गुलाम भन्छन्,‘तर हामीले कहिल्यै आशा गुमाउनु हुँदैन। मैले सधैं उसको समय आउने विश्वास गरेको थिएँ।’
अन्ततः त्यो समय आयो
अकिबले हालै रणजी ट्रफी इतिहासकै उत्कृष्ट बलिङमध्ये एक प्रस्तुत गरे। उनले १० खेलमा ६० विकेट लिए र प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बने। उनको उत्कृष्ट प्रदर्शनकै मद्दतमा जम्मु काश्मीरले ६७ वर्षको प्रतीक्षापछि पहिलोपटक रणजी ट्रफीको उपाधि जित्यो।
त्यही प्रदर्शनपछि उनी इन्डियन प्रिमियर लिग (आइपिएल) को दिल्ली क्यापिटल्ससँग ८ करोड ४० लाख भारतीय रुपैयाँ अनुबन्धित भए। आइपिएलमा उनको खेल्ने अवसर भने सीमित रह्यो तर रातो बलको क्रिकेटमा गरेको प्रदर्शनले भारतीय छनोटकर्ताहरूको ध्यान भने तानिसकेको थियो। रसुलका लागि अकिबको टेस्ट टोलीमा छनोट एउटा खेलाडीको उपलब्धिभन्दा धेरै ठूलो अर्थ राख्छ। ‘टेस्ट क्रिकेट खेल्नु हरेक क्रिकेटरको सपना हो। मेरो पनि त्यही सपना थियो। अकिबले टेस्ट टोलीमा स्थान बनाएको देख्दा अत्यन्त गर्व लागेको छ,’ रसुलले भने, ‘जम्मु–काश्मीरका हामी धेरैको सपना अकिबमार्फत पूरा भएको महसुस भयो। यो अकिब र उनको परिवारका लागि मात्र होइन। पूरै क्षेत्रको क्रिकेटका लागि ऐतिहासिक क्षण हो।’
अकिबको यात्रा भारतीय टोलीसम्म पुगेका कारण मात्र होइन। उनी जुन ठाउँबाट आएका हुन्, त्यस कारण पनि विशेष छ। कुनै पनि खेलाडीका लागि भारतीय टोलीमा पुग्नु कठिन हुन्छ तर जम्मु–काश्मीरबाट आउने खेलाडीका लागि चुनौती ठूलो छ। लामो समयदेखि हामीसँग सीमित पूर्वाधार, कम अवसर र देशका अन्य भागका खेलाडीले सामना गर्न नपर्ने धेरै अवरोधहरू थिए।
जम्मु–काश्मीर सन् १९५७ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) सँग आबद्ध भएको थियो। तर अहिले पनि उक्त क्षेत्रमा दुईवटा मात्र प्रमुख क्रिकेट रंगशाला छन् र दुवैमा सुविधा सीमित छन्। लामो जाडो, भारी हिमपात र दशकौं लामो द्वन्द्वले पनि त्यहाँ क्रिकेटको विकासलाई सुस्त बनाएको छ।
प्रकाशित: २५ श्रावण २०८३ ०७:०७ सोमबार