खेल

को हुन् अर्जेन्टिना र केप भर्डेको खेल खेलाउने रेफ्री फिसर?

फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र केप भर्डेबीच हुने अन्तिम ३२ को बहुप्रतिक्षित खेल शनिबार बिहान नेपाली समयअनुसार ३ः४५ बजे मियामीस्थित हार्ड रक स्टेडियममा हुँदैछ। यस महत्वपूर्ण खेलका लागि फिफाले क्यानडाका रेफ्री ड्रु फिसरलाई मुख्य रेफ्रीको जिम्मेवारी दिएको छ। तर खेलअघि नै फिसरसँग जोडिएको पुरानो विवाद फेरि चर्चामा आएको छ।

क्यानडाको क्याल्गरीमा जन्मिएका ड्रु फिसर उत्तर अमेरिकी फुटबलमा लामो समयदेखि सक्रिय छन्। उनी नियमित रूपमा मेजर लिग सकर (एमएलएस) का खेल सञ्चालन गर्दै आएका छन्। हालसम्म उनले लिओनल मेसी आबद्ध लिगमा २२९ खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन्।

सन् २०१५ देखि अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा सक्रिय रहेका फिसरले इन्टर मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–२ ले पराजित गर्दै पहिलो लिग उपाधि जितेको खेलमा पनि रेफ्रीको भूमिका निभाएका थिए।

यद्यपि, उनको करिअर विवादरहित भने छैन। सन् २०२३ मा मेक्सिको र होन्डुरासबीच भएको कन्काकाफ नेसन्स लिग क्वार्टरफाइनलमा उनी भिडियो सहायक रेफ्री (भीएआर) मा थिए। उक्त खेलमा उनले मेक्सिकोको पक्षमा निर्णय गराएको आरोप लागेको थियो।

खेलपछि मुख्य रेफ्री इभान बार्टोनले सार्वजनिक रूपमा भनेका थिए, “भीएआरमा रहेका क्यानडाली रेफ्रीले मलाई ९ मिनेट ४० सेकेन्ड अतिरिक्त समय थप्न भनेका थिए। मैले ९ मिनेट मात्र थपें। त्यसपछि ९ मिनेट सकिएपछि फेरि दुई मिनेट थप्नुपर्छ भन्ने सन्देश आयो।”

त्यसपछि थपिएको समयको १०औं मिनेटमा मेक्सिकोले बराबरी गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्‍याएको थियो र अन्ततः जित हात पारेको थियो। केही दिनमै विवाद सेलायो, किनभने फिसरलाई मेक्सिको र अमेरिकाबीचको फाइनल खेलको रेफ्री नियुक्त गरिएको थियो। उक्त खेलमा अमेरिका २–० ले जित निकालेको थियो।

यसअघि फिसरले अर्जेन्टिनाको एउटा मात्र खेल सञ्चालन गरेका छन्। सन् २०२४ मा कोपा अमेरिका अघि फिलाडेल्फियामा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एन्जेल डी मारियाको गोलमा इक्वेडरलाई १–० ले हराएको थियो। त्यसको एक महिनापछि अर्जेन्टिनाले कोपा अमेरिका उपाधि पनि जितेको थियो।

हाल जारी विश्वकपमा फिसरले पहिलोपटक रेफ्रीको जिम्मेवारी सम्हालिरहेका छन्। उनले यसअघि इराक–फ्रान्स तथा क्रोएसिया–घाना खेल सञ्चालन गरिसकेका छन्, जहाँ दुवै खेलमा युरोपेली टोली विजयी भएका थिए।

गत वर्ष अमेरिकामा आयोजित क्लब विश्वकपमा पनि उनले दुई खेल सञ्चालन गरेका थिए। पेरिस सेन्ट–जर्मेनविरुद्ध बोटाफोगोको अप्रत्याशित जित तथा अल ऐनले विडाद ट्युनिसियालाई हराएको खेलमा समेत उनी मैदानमा रेफ्रीका रूपमा रहेका थिए।

अब अर्जेन्टिना र केप भर्डेबीचको महत्वपूर्ण खेलमा ड्रु फिसरको निर्णयमाथि पनि समर्थकहरूको विशेष नजर रहनेछ।

प्रकाशित: १८ असार २०८३ १८:१३ बिहीबार