खेल

ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दोमा शनिबार

दुई विधा समावेश गरिएको दोस्रो ह्वाइटफिल्ड अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आगामी शनिबार हुने भएको छ।

युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले ह्वाइटफिल्ड सेकेन्डरी स्कुलले आगामी मंसिर २७ गते एकदिने तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्न लागेको हो। करिब १५ विद्यालयका ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। खुसिबुँस्थित ह्वाइटफिल्डमा पत्रकार सम्मेलन आयोजना गर्दै विद्यालयले प्रतियोगिताको बारेमा जानकारी दिएको हो।

ह्वाइटफिल्डकी भाइस प्रिन्सिपल वर्षा श्रेष्ठले यस किसिमका प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास बढाउने र उनीहरूमा भएका क्षमता वृद्धि विकास हुने बताइन्।

ग्योरोगी (फाइट) र स्पिड किक गरी दुई विधामा प्रतिस्पर्धा हुने ह्वाइटफिल्ड तेक्वान्दो डोजाङका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए। स्पिड किकमा तीनवटा बेल्ट समूहमा प्रतिस्पर्धा समावेश गरिएको छ। ग्योरोगीमा किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर गरी गर्ल्स र ब्वाइजमा  कुल ८० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। गर्ल्स  र ब्वाइजमा समान १० तौलसमूहमा प्रतिस्पर्धा तय गरिएको छ।

स्पिड किकमा भने सेतो र पहेँलो बेल्टमा, पहेँलो/हरियोदेखि नीलो बेल्ट र नीलो/रातो देखि कालो बेल्टसम्मको समूहमा खेलाडीले चुनौती प्रस्तुत गर्ने ह्वाइटफिल्डका राममणि बगालेले जानकारी दिए।

ह्वाइटफिल्ड स्कूलले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको अतिरिक्त क्षमता विकासलाई प्रोत्साहन दिँदै आएको छ। विद्यालयले खेलकुद, कला र मनोरञ्जनजस्ता विविध क्षेत्रमा विद्यार्थीहरूलाई सहभागी बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि उनीहरूलाई पदक जिताउन सफल भएको छ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले ट्रफी प्राप्त गर्नेछन्। ग्योरोगीतर्फ चारै विधा (किड्स, चिल्ड्रेन, क्याडेट र जुनियर) मा उत्कृष्ट फाइटरले ट्रफी पाउने आयोजकले जनाएको छ। यस पटकको आयोजनाका लागि करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान छ।

प्रकाशित: २६ मंसिर २०८२ ०८:११ शुक्रबार