खेल

एनपीएलको हिसाबकिताब छिट्टै सार्वजनिक गर्छौं, दोस्रो संस्करण रोकिन्न: पारस

फाइल।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको हिसाबकिताबमाथि उठेका प्रश्नलाई सम्बोधन गर्दै आयव्यय विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्यानको बोर्ड बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आर्थिक पारदर्शिताको विषयमा केही सदस्यहरूले थप स्पष्टता खोजे पनि एनपीएलको दोस्रो संस्करणको तयारी भने नरोकिने स्पष्ट पारे।

खड्काले भने, ‘एनपीएलको पहिलो संस्करणको हिसाब पारदर्शी भएन वा अनियमितता भयो भन्ने विषयमा हामी भोलि-पर्सि नै विवरण सार्वजनिक गर्नेछौं। बोर्डका केही साथीहरूले हिसाब बुझ्न अझै समय चाहियो भन्नुभएको छ, तर एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा छ।’

उनका अनुसार, बोर्ड बैठकले एनपीएलको दोस्रो संस्करणको तयारीलाई भव्य रूपमा अगाडि बढाउने निर्णय गरेको छ। आर्थिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन प्रक्रिया समानान्तर रूपमा अघि बढे पनि त्यसले प्रतियोगिताको तयारीमा कुनै असर नपार्ने उनको भनाइ थियो।

‘यो क्रिकेटको महोत्सव हो। अहिले विश्वकप छनोटको वर्ष पनि हो,’ खड्काले थपे, ‘एनपीएलले नेपाली क्रिकेटमा जुन किसिमको चासो बढाएको छ, त्यसलाई निरन्तरता दिनु हाम्रो जिम्मेवारी हो। तयारीसँग सम्बन्धित कामहरू, जस्तै: अक्सनको तयारी र खेलाडीहरूको भ्रमण तालिका, रोकिने छैनन्।’

उनले बोर्डमा विभिन्न विचारका सदस्यहरू भए पनि एनपीएललाई अगाडि बढाउने विषयमा सबैको सहमति रहेको कुरामा जोड दिए। ‘एनपीएल अगाडि बढ्नुपर्छ, एनपीएल हुनुपर्छ भन्नेमा हामी सबै एकमत छौं। केही प्रक्रियागत कुराहरूलाई समय लाग्न सक्छ, तर प्रतियोगिता रोकिँदैन,’ उनले भने।

प्रकाशित: १५ श्रावण २०८२ २०:५५ बिहीबार