खेल

लुम्बिनी प्लेअफमा पुग्दा उत्साहित छौँ : कप्तान पौडेल

काठमाडौं‌मा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ। आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोलीसमेत बनेको छ।

चार खेलबाट आठ अङ्क जोड्दै लुम्बिनी प्लेअफ पुग्दा जनकपुरसहित पोखरा र चितवन लिग चरणको अन्तिम खेल्न बाँकी छँदै बाहिरिएका छन्। यसअघि  सुदूरपश्चिम, काठमाडौं र विराटनगर प्लेअफमा सुरक्षित भइसकेका छन्।

आजको जितमा लुम्बिनीका कप्तान रोहित पौडेलले म्याच विनर पारी खेले। उनी प्लेयर अफ दी म्याचसमेत चुनिए। जितसँगै प्लेअफमा पुगेपछि कप्तान रोहित पौडेलले सञ्चारकर्मीसँग उत्साहित भएको प्रतिक्रिया दिए।

उनले भने, 'प्लेअफ पुग्दा एकदमै खुसी छौँ। अबका खेलमा राम्रो गरेर उपाधि जित्छौँ भन्ने लागेको छ।' आफ्ना लागि कुनै पनि टिम बलियो नरहेको बताउँदै उनले सहज जित निकाल्नेमा विश्वास व्यक्त गरे। उनले भने, 'अबका खेलहरू भनेका नकआउट जस्तै हुन्। कुनै पनि टोलीसँग खेल्न हामीलाई गाह्रो हुँदैन।'

जनकपुर बोल्ट्स कप्तान जान निकोल लफ्टि इटनले अन्तिम खेल प्रतिष्ठा, समर्थक र व्यवस्थापनका लागि खेल्ने बताए।

प्रकाशित: १९ मंसिर २०८२ २१:१७ शुक्रबार