नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १६१ रनको मध्यम लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डूले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनायो। काठमाण्डूका लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५० बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे।
वार्नर र अर्का ओपनर साहिल पटेल मिलेर पहिलो विकेटका लागि १०४ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए। पटेलले ३६ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाए।
तर, ओपनर जोडी आउट भएसँगै काठमाण्डूको इनिङ्स धर्मराएको थियो। मध्यक्रमका ब्याटरहरू सस्तैमा समेटिएपछि काठमाण्डूले लगातार विकेट गुमायो। कप्तान करण केसी ९ रन, विलियम बोसिस्टो शून्य, रसिद खान १ रन तथा जहाँदाद खान ६ रनमा पेभेलियन फर्किए।
अन्तिमतिर सहान अराचिगेले आक्रामक ब्याटिङ गर्दै इनिङ्स उकासे। उनले मात्र १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित ३४ रन बनाए। मोहम्मद आदिल आलम १ र सन्तोष यादव २ रनमा रनआउट भए भने भीम सार्की शून्य रनमा अविजित रहे।
बलिङतर्फ लुम्बिनी लायन्सका अभिषेक गौतम, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले कसिलो बलिङ गरे। अभिषेकले ४ ओभरमा मात्र १५ रन खर्चेर २ विकेट लिए। शेर मल्लले ४ ओभरमा १९ रन दिएर २ विकेट तथा रुबेन ट्रम्पलम्यानले ३ ओभरमा २४ रन खर्चेर २ विकेट हात पारे।
१६१ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रिएको लुम्बिनी लायन्सले १.१ ओभरमा कुनै विकेट नगुमाई ६ रन बनाएर खेलिरहेको छ। डार्सी सर्ट ४ र आसिफ शेख १ रनमा क्रिजमा छन्।
प्रकाशित: २१ कार्तिक २०८३ १९:०४ शनिबार