यतिबेला विश्व फुटबल जगतमा रियल म्याड्रिडमा फरवार्डर भिनिसियस जुनियरमाथि भएको जातीय दुर्व्यवहारको विषय चर्चामा छ।
गत मंगलबार च्याम्पियन्स लिग प्लेअफ खेलमा उनीमाथि पुन: एक पटक जातीय दुर्व्यवहार भएको थियो। जसका कारण उक्त खेल १० मिनेटका लागि रोकिएको थियो। २५ वर्षीय उनी यसरी दुर्व्यवहारको पटक-पटक सिकार हुँदै आइरहेका छन्।
रियल म्याड्रिडमा आएको उनी ८ वर्ष भएको छ। यो ८ वर्षमा उनले २० पटक यस किसिमको दुर्व्यवहारको सामना गर्नु परिरहेको छ। बेन्फिकाका अर्जेन्टिनाका मिडफिल्डर जियानलुका प्रेस्टियानीले उनीमाथि जातीय दुर्व्यवहार गरेको यो पछिल्लो आरोप हो। तर, खेलपछि भने प्रेस्टियानीले आफूमाथि लागेको आरोप अस्वीकार गरे।
भिनिसियसमाथि भइरहने यस प्रकारको दुर्व्यवहारविरुद्ध प्रोटोकलहरू कडा बनाउन प्रेरित गरेको देखिन्छ। यसअघि उनी अक्टोबर २०२१ मा पनि यस्तै दुर्व्यवहारमा परेका थिए। त्यति बेला क्याम्प नोउमा भएको क्लासिकोका क्रममा एक समर्थकले उनलाई प्रतिस्थापन गरिएको बेला जातीय दुर्व्यवहार गरेको बताएका थिए।
त्यस्तै, सन् २०२२ मार्चमा मालोर्काका फ्यानहरूले उनीतिर बाँदरको आवाज निकाले जिस्काएका थिए। उक्त खेलमा अधिकारीहरू आक्रोशित भएका थिए। उनीहरूले यो दुर्व्यवहारलाई घृणित भएको तर आपराधिक नभएको बताएका थिए। यसपछि उनीविरुद्ध त्यस्तो व्यवहार गर्ने व्यक्तिलाई कारबाही गरिएको थिएन।
सन् २०२४ मा मात्र उनीमाथि त्यसै प्रकारको जातीय दुर्व्यवहार गर्नेलाई सजाय दिइयाे, जुन २०२४ मा दुर्व्यवहारमा संलग्न भएको आरोपमा तीन जना प्रशंसकहरूलाई आठ महिनाको जेल र दुई वर्षको स्टेडियम प्रतिबन्धको सजाय पनि सुनाइएको थियो। त्यसबेला स्पेनले पहिलो पटक यस प्रकारको कदम चालेको हो।
स्पेनको यो कदमपछि उनले जुन २०२४ मा यस विषयमा प्रतिक्रिया जनाएका थिए। 'धेरै मानिसहरूले मलाई यसलाई बेवास्ता गर भने, अनि कति मानिसले यो लडाई व्यर्थ भयो र केवल फुटबल मात्र खेल भने,' उनले एक्समा एक पोस्ट गर्दै भने, 'स्पेनी इतिहासमा यो पहिलो आपराधिक सजाय मेरो लागि होइन, यो सबै काला मानिसहरूको लागि हो।'
उनी पटक-पटक यस प्रकारको सिकार बनिरहँदा यूनियन अफ युरोपियन एसोसिएसनले घटनाको अनुसन्धान सुरु गरेको छ र सम्भावित जातीय दुर्व्यवहारको आरोपहरूको जाँच गर्न एक नैतिकता र अनुशासन निरीक्षक नियुक्त गरेको छ।
यदि प्रेस्टियानी अनुशासनात्मक नियमहरू अन्तर्गत दोषी पाइएमा उनलाई कम्तिमा १० च्याम्पियन्स लिग खेलहरूको प्रतिबन्ध र अन्य प्रतिबन्धहरूको सामना गर्नुपर्ने हुन्छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १४:३७ शुक्रबार