दोस्रो संस्करणको वात्सयल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लागि नेदरल्यान्ड्सकी सेटर डानिक आर्डेमालाई मधेस युनाइटेडले अनुबन्ध गरेको छ।
मधेसले बिहीबार बिहान आर्डेमालाई अनुबन्ध गरेको हो। उनी मधेसमा भित्रिने दोश्रो विदेशी खेलाडी हुन्।
यसअघि नेदरल्यान्ड्सकी रोमी भिनस्ट्रालाई मधेसले अनुबन्ध गरिसक्यो।
आर्डेमा अनुभवी सेटर हुनले उनले नेदरल्यान्ड्सको शीर्ष स्तरीय क्लबहरुमा खेल्दै उल्लेखनीय प्रदर्शन गरेकी छिन्। उनले नेदरल्यान्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा समेत खेलेकी छिन्।
मधेस यूनाइटेडमा आउन पाउँदा धेरै खुसी रहेको र मधेसलाई उपाधि जिताउने लक्ष्य रहेको आर्डेमाले बताइन्।
मधेस यूनाइटेडको मार्की खेलाडीको रुपमा निरुता ठगुन्ना रहेकी छिन्।
प्रकाशित: ५ भाद्र २०८२ १२:०५ बिहीबार