खेल

युएस ओपनः सिनर र ओसाका सेमिफाइनलमा, स्वातेक बाहिरिइन्

शीर्ष वरीयाताका जानिक सिनर र क्यानाडाका फेलिक्स औगर युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  

दशौं वरीयाता प्राप्त आफ्नै देशका लोरेन्जो मुसेट्टीलाई ६-१, ६-४ र ६-२ को सेटमा पराजित गर्दै इटलीका सिनरले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।  

२५ औं वरीयाताका औगर भने अस्ट्रेलियाका एलेक्स डी मिनाउरमाथि ३-१ को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरे । ४ घण्टा १० मिनेट चलेको उक्त खेलको पहिलो सेट औगरले ४-६ ले मिनाउरलाई सुम्पिएका थिए । तर सोपछिका तीनै सेटमा उनले संघर्षपूर्ण जित निकाले । टाइ भएको दोस्रो सेट ९-७ र चौथो सेट ७-४ ले जिते भने तेस्रो सेटमा ७-५ ले बाजी मारे ।  

फाइनल प्रवेशका लागि सिनर र औगर प्रतिस्पर्धा गर्नेछन् ।  

महिला एकलतर्फको सेमिफाइनलमा अमेरिकाकी अमान्दा आनिसिमोभा र जापानकी नाओमी ओसाकाबीच प्रतिस्पर्धा हुने भएको छ ।  

दोस्रो वरीयाताकी इगा स्वातेकलाई सोझो सेटमा पराजित गर्दै आठौं वरीयाताकी आनिसिमोभा पहिलो पटक युएस ओपनको सेमिफाइनलमा पुगेकी हुन् । विम्बल्डन विजेता स्वातेकलाई उनले ६-४ र ६-३ ले स्तब्ध पारिन् ।  

अर्को खेलमा २३ औं वरीयाताकी ओसाकाले चेक रिपब्लिककी कारोलिना मुचोभालाई ६-४ र ७-६ (७-३) को सेटमा पराजित गरिन्।

प्रकाशित: १९ भाद्र २०८२ १३:४८ बिहीबार