खेल

असहज र अनिश्चिततामा युनाइटेड

‘अगाडि बढ्दै गर्दा हामीले खेल जित्नुपर्छ, कुरा यही नै हो,’ शनिबार चेल्सीसँग २–० ले पराजयपछि म्यानचेस्टर युनाइटेडका माइकल क्यारिकले आफ्नो शान्त र सोचविचारपूर्ण शैलीमा प्रतिक्रिया दिए।

खेलाडी जीवनको सुरुआती चरणमा क्यारिकले वेस्ट ह्यामसँगै एकपटक रेलिगेसनको पीडा भोगेका थिए। सन् २००२–०३ को सिजनमा वेस्ट ह्याम रेलिगेसनमा पर्ला भनेर कसैले सोचेको थिएन। त्यो टोलीमा उनीसँगै इङ्ल्यान्डका गोलकिपर डेविड जेम्स थिए। जो कोल, जर्मेन डेफो र ट्रेभर सिन्क्लेयरले सबै प्रतियोगितामा ४० भन्दा बढी खेल खेलेका थिए तर बलियो टोली हुँदाहुँदै पनि वेस्ट ह्याम रेलिगेसनमा पर्‍यो। ४२ अंक जोडे पनि टोली लिगको पुछारबाट तेस्रो स्थानमा रह्यो। ३८ खेलको प्रिमियर लिग सिजनमा रेलिगेसनमा पर्ने कुनै पनि टोलीले जोडेको यो अहिलेसम्मकै सबैभन्दा धेरै अंक हो। यही अवस्था अहिले म्यानचेस्टर युनाइटेडसँग तुलना गरिएको छ।

युनाइटेडको ९ खेलबाट सात अंक छ। यही गति कायम राख्दा पूरा सिजन युनाइटेडको ३० अंकसमेत पुग्ने छैन। त्यसो भए के युनाइटेड रेलिगेसनको संघर्षमा फस्ने संकेत देखिएको हो ? युनाइटेडको पछिल्लोपल्ट रेलिगेसन सम्झन ६ दशक फर्कनुपर्छ।

सन् २०७३/०७४ को सिजन युनाइटेड रेलिगेसनमा परेको थियो। म्यानचेस्टर सिटीका डेनिस लले गरेको एउटा अप्रत्याशित ब्याकहिल गोलका कारण युनाइटेड रेलिगेसनमा परेको भन्ने चर्चा अझै हुन्छ। गोल गरेपछि उनले खुसीसमेत मनाएका थिएनन् तर वास्तविकता फरक थियो। तत्कालीन प्रशिक्षक टमी डोचेर्टीको नेतृत्वमै युनाइटेड रेलिगेसनबाट जोगिने सम्भावना गुमाइसकेको थियो। १९८६ को नोभेम्बरपछि युनाइटेड कम्तीमा नौ खेल खेलिसक्दा रेलिगेसन क्षेत्रमा पुगेको थिएन।

त्यसबेला सर एलेक्स फर्गुसनले रोन एट्किन्सनको स्थानमा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि सुरुआती दुई खेलमा युनाइटेडले एक अंक मात्रै जोडेको थियो। त्यसयता सिजनका कम्तीमा नौ खेल सकिँदा युनाइटेडको सबैभन्दा खराब स्थान १७औं थियो।

सन् १९८९–९० को सिजनमा टोली त्यही स्थानमै थियो। अहिले फेरि युनाइटेड १७औं स्थानमा छ। शनिबार अन्य खेलका नतिजाले पनि उसलाई यो अवस्थामा पुर्‍याउन भूमिका खेल्यो। क्यारिकको टोली सबै प्रतियोगिता गरी लगातार नौ खेलदेखि जितविहीन छ।

सन् १९८८–८९ पछि युनाइटेडको यो सबैभन्दा खराब प्रदर्शन हो। जारी प्रिमियर लिग सिजनमा युनाइटेडले एक मात्र जित निकालेको छ। घरेलु मैदानमा गत अगस्टमा इप्सविच टाउनविरुद्ध पछि परेको अवस्था उल्टाउँदै उसले जितेको थियो।

तथापि युनाइटेडका समर्थकले आफ्नो टोलीलाई अंकतालिकाको तल्लो भागमा संघर्ष गरिरहेको देखेको यो पहिलोपटक होइन। रुबेन अमोरिमको प्रशिक्षणमा सन् २०२४–२५ को सिजनमा ३७ खेल सकिँदा युनाइटेड १६औं स्थानमा थियो।

त्यतिबेला पुछारबाट तेस्रो स्थानमा रहेको लेस्टर सिटीभन्दा युनाइटेड १४ अंकले अगाडि थियो। त्यसैले खराब प्रदर्शनका बावजुद टोलीको रेलिगेसन खतरा थिएन। पछिल्ला केही वर्षमा रेलिगेसनको जोखिममा परेको क्लब टोटेनहम पनि हो।

गत सिजनका अन्तिम चार खेल बाँकी रहँदा टोटेनहम पुछारबाट तेस्रो स्थानमा थियो। वेस्ट ह्यामभन्दा टोटनहम दुई अंकले पछाडि थियो। त्यसैले ठूला क्लब पनि रेलिगेसनमा पर्न सक्छन् भन्ने उदाहरण छन्।

जारी सिजनमा सात सय मिलियन पाउन्डभन्दा बढी आम्दानी गर्ने अपेक्षा गरिएको युनाइटेड शीर्ष तीन रेलिगेसन स्थानमा पुग्ने सम्भावना भने निकै कम देखिन्छ। यो अवस्थासँग जुध्न खेलाडीहरू मानसिक रूपमा सक्षम छन् ? कि छैनन् भन्ने हो। ‘अहिलेको अवस्थालाई तपाईं त्यसरी पनि हेर्न सक्नुहुन्छ। तर, खेल जित्न थालेपछि अंकतालिकामा कति छिटो माथि उक्लन सकिन्छ भन्ने पक्षबाट पनि हेर्न सकिन्छ। हामीले सोच्नुपर्ने तरिका यही हो,’ सोही प्रश्नबारे क्यारिकले भने। तर, क्यारिकले भनेजस्तै युनाइटेडलाई अहिलेको संकटबाट बाहिर निकाल्ने एउटै उपाय खेल जित्नु नै हो।

युनाइटेडले नोभेम्बर ८ मा ओल्ड ट्राफोर्डमा एस्टन भिल्लासँग खेल्नेछ। त्यसपछि उसले लिभरपुल, न्युक्यासल र आर्सनलको मैदानमा खेल्नुपर्नेछ। त्यसअघि टोलीले अन्य चार खेल पनि खेल्ने तालिका छ। क्यारिकको भविष्यबारे क्लबले कुनै औपचारिक जानकारी अहिलेसम्म दिएको छैन।

 शनिबार हारअघि मंगलबार हुने च्याम्पियन्स लिगको रोमाविरुद्धको खेलमा पनि उनले नै टोली सम्हाल्ने अपेक्षा गरिएको थियो तर अहिले युनाइटेड असहज र अनिश्चित अवस्थामा पुगेको छ। अब के हुन्छ भन्ने विषयमा कसैले पनि ठोकुवा गर्न सक्ने अवस्था छैन। यति भने स्पष्ट छ, टोलीका धेरै खेलाडीले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्नेछ।चेल्सीविरुद्ध रातो कार्ड पाएका लिसान्द्रो मार्टिनेजले एस्टन भिल्लाविरुद्धको खेल गुमाउनेछन्। मार्टिनेजको युनाइटेडमा दीर्घकालीन भविष्यसमेत अनिश्चित छ। तर कम्तीमा जनवरीअघि उनले क्लब छाड्ने सम्भावना छैन।

अर्जेन्टिनी डिफेन्डरको सम्झौता आगामी समरमा सकिँदै छ। चोटका कारण उनले नियमित खेल्न नसकिरहेको अवस्थाले पनि युनाइटेडलाई उनको सम्झौता थप एक सिजन लम्ब्याउने विकल्प प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्नमा सोच्न बाध्य बनाएको छ।

रेलिगेसनले युनाइटेडलाई कति आर्थिक क्षति पुर्‍याउँछ?

सिजनका नौ खेल मात्रै सकिएका बेला युनाइटेड रेलिगेसनमा परेपछि हुने वास्तविक आर्थिक असरबारे चर्चा गर्नु अलि चाँडो हुन सक्छ तर केही तथ्यांकले सम्भावित संकटको गम्भीरता भने देखाउँछन्।

गत मेमा फुटबलको आर्थिक पक्षबारे विश्लेषण गर्ने चर्चित ब्लगर पल क्विन (द एस्क) ले टोटेनहम रेलिगेसनमा परेको अवस्थामा क्लबले एक सय ९७ देखि दुई सय ३५ मिलियन पाउन्डसम्म आम्दानी गुमाउन सक्ने अनुमान गरेका थिए।

 टेलिभिजन प्रसारण अधिकारबाट सबैभन्दा धेरै आम्दानी गर्ने प्रिमियर लिगका क्लबमध्ये युनाइटेड पनि एक हो। रेलिगेसनमा परेपछि क्लबको आम्दानीमा हुने ठूलो गिरावटलाई पूर्ति गर्न सक्ने छैन। युनाइटेडका अधिकांश खेलाडीको सम्झौतामा रेलिगेसन भए पारिश्रमिक घट्ने वा अन्य सर्त लागू हुने प्रावधान रहेको सम्भावना कम छ। क्लबको व्यावसायिक आम्दानी पनि ठूलो छ। तर, रेलिगेसन भए त्यसले प्रायोजन तथा अन्य व्यावसायिक सम्झौतामा कस्तो असर पार्छ भन्ने स्पष्ट छैन।

युनाइटेडमाथि अहिले एक अर्ब १५ करोड पाउन्ड बराबरको ऋण छ। यसमा उच्च ब्याजदरमा जुनमा पुनः सम्झौता गरिएका ऋणपत्र, रिभल्भिङ क्रेडिट सुविधा तथा खेलाडी अनुबन्धका लागि तिर्न बाँकी रकम समावेश छन्। क्लब नयाँ रंगशाला निर्माण गर्ने योजनालाई अन्तिम रूप दिन समर्थकसँग परामर्श गर्ने तयारीमा छ।

नयाँ रंगशालासम्बन्धी अन्तिम योजना सन् २०२७ को अन्त्य वा २०२८ को सुरुआतसम्म पेस गर्ने लक्ष्यमा छ। चेल्सीसँगको खेलका क्रममा पनि युनाइटेडका समर्थकले नयाँ रंगशाला निर्माण गर्ने योजनाको विरोधमा नाराबाजी गरेका थिए। युनाइटेडको आर्थिक अवस्था र मैदानभित्रको प्रदर्शन दुवै जटिल मोडमा छन्। रेलिगेसनको चरम संकट तत्कालै निम्तिने सम्भावना निकै कम छ। अंकतालिकामा क्लबको अवस्थाले टोली कति खराब लयबाट गुज्रिएको प्रस्ट छ।

प्रकाशित: १६ कार्तिक २०८३ ०७:४३ सोमबार