खेल

ग्वार्डिओला युगपछि अनिश्चितता र उथलपुथल

इङ्लिस फुटबलमा पेप ग्वार्डिओलापछिको युग सुरु हुँदै गर्दा म्यानचेस्टर सिटीसँगै समग्र प्रिमियर लिगमै अनिश्चितता र उथलपुथल देखिएको छ।

विश्वकै चर्चित र लोकप्रिय व्यावसायिक फुटबल इङ्लिस प्रिमियर लिग शुक्रबारदेखि सुरु हुने तयारीमा छ। यस सिजनको प्रिमियर लिगमा नौ क्लबले नयाँ स्थायी प्रशिक्षक नियुक्त गरेका छन्। इङ्लिस शीर्ष डिभिजनको सिजन सुरु हुनुअघि धेरै क्लबले नयाँ प्रशिक्षक पाएको यो अहिलेसम्मकै ठूलो संख्या हो। ३३ वर्षका फाबियन ह्युर्जेलर नै अहिले प्रिमियर लिगका सबैभन्दा लामो समयदेखि कार्यरत प्रशिक्षकमध्ये एक हुन्। तर, उनी ब्राइटनमा आएको पनि दुई वर्ष मात्र भएको छ। सबैभन्दा ठूलो रिक्तता म्यानचेस्टर सिटीमा छ। जहाँ १० वर्षको कीर्तिमानी कार्यकालपछि ग्वार्डिओलाले क्लब छाडेका छन्। उनको स्थानमा आएका एन्जो मारेस्काका लागि सहज हुने छैन।

आर्सनलसँग आइतबार कम्युनिटी सिल्डमा गरेको निराशाजनक प्रदर्शनपछि सिटी समस्यामा रहेको स्पष्ट देखिन्छ। अन्य ठूला क्लब लिभरपुल (आन्दोनी इराओला), चेल्सी (जाबी अलोन्सो) र न्युक्यासल युनाइटेड (माथियस जाइस्ले) ले पनि नयाँ प्रशिक्षक पाएका हुन्। यी तीनै टोलीले गत सिजन च्याम्पियन्स लिगमा खेलेका थिए। त्यसैले मार्च ३१ तारिखमा रेलिगेसनबाट बचाउन टोटनहमको प्रशिक्षक नियुक्त भएका रोबर्टो डे जर्बी र गत सिजनको मध्यमा म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षकका रूपमा आएर प्रभाव पार्दै स्थायी प्रशिक्षक बनेका माइकल क्यारिकसमेत अनुभवी प्रशिक्षकजस्ता देखिन्छन्। यसबिच गत सिजनको च्याम्पियन आर्सनलमा स्थिरता देखिन्छ। मिकेल आर्टेटा आर्सनलको जिम्मेवारीमा सातौं सिजनमा प्रवेश गर्दै छन्।

उनी नै अहिले प्रिमियर लिगकै सबैभन्दा लामो समयदेखि कार्यरत प्रशिक्षक हुन्। तर आर्सनलमाथि पनि ठूलो प्रश्नचिह्न सिर्जना भएको छ। २२ वर्षपछि पहिलो पटक लिग उपाधि जितेपछि टोलीमा त्यसको असर अर्थात् ‘ह्याङओभर’ देखिएला? यसको जबाफ अब छिट्टै पाइनेछ। यद्यपि कम्युनिटी सिल्डमा आर्सनलको प्रदर्शनले समर्थकलाई आशा भने दिएको छ। लगातार रोमाञ्चक मोड लिइरहने प्रिमियर लिगको नयाँ सिजन शुक्रबार रातिदेखि औपचारिक रूपमा सुरु हुनेछ। आर्सनलले आफ्नो घरेलु मैदानमा लामो समयपछि शीर्ष डिभिजनमा फर्किएको कोभेन्ट्रीको सामना गर्नेछ। कोभेन्ट्रीको आफ्नै रोचक कथा छ। यो टोली २५ वर्षपछि फेरि इङ्लिस फुटबलको ठूलो मञ्चमा फर्किएको हो। प्रिमियर लिगमा अन्य प्रश्न पनि सिर्जना भएका छन्।

सुपरस्टारको कमी हुँदै छ?

क्रिस्टियानो रोनाल्डोको प्रिमियर लिग यात्रा २०२२ मै समाप्त भयो। ह्यारी केनले २०२३ मा इङ्ल्यान्ड छाडे। केभिन डी ब्रुएनेले २०२५ मा सिटीबाट बिदा लिए।

मोहम्मद सालाहले यो अफसिजन टर्की जाने निर्णय गरे। अर्का स्टार रोड्री पनि बार्सिलोना जाने सम्भावना छ। यसले एउटा ठूलो प्रश्न खडा गर्छ। के अब विश्वकै सबैभन्दा ठूलो मानिने लिगमा स्टार खेलाडीको कमी हुँदै छ? तर, सिटीसँग अझै पनि उत्कृष्ट स्ट्राइकर एर्लिङ हालान्ड छन्। विश्वकपका क्रममा अमेरिकी समर्थकलाई प्रभावित गरेपछि उनको ब्रान्डको लोकप्रियता झन् बढेको छ। तर किलियन एम्बाप्पे, ओस्मान डेम्बेले, भिनिसियस जुनियर, लामिन यामाल तथा इङ्ल्यान्डकै दुई ठूला खेलाडी केन र जुड बेलिङ्घमजस्ता सुपरस्टार अहिले अन्य देशमा खेलिरहेका छन्।

साथै यस शताब्दीका महान् स्टार लियोनल मेसी, रोनाल्डिन्हो र जिनेदिन जिदानले पनि इङ्ल्यान्डमा खेलेनन्। यस अफसिजनको सबैभन्दा ठूलो ब्लाकबस्टर ट्रान्सफर भिनिसियस आर्सनल जाने हुन सक्थ्यो। तर उनले रियाल मड्रिडमै रहने निर्णय गरे। प्रिमियर लिगले पछिल्लो समय विश्वकै उत्कृष्ट प्रशिक्षकहरू आफूसँग रहेकोमा गर्व गर्दै आएको थियो। तर अब ग्वार्डिओला र योर्गान क्लोप दुवै प्रिमियर लिगमा छैनन्। त्यसैले प्रिमियर लिगले अब विश्वकै उत्कृष्ट प्रशिक्षक वा सुपरस्टारभन्दा पनि गहिरो प्रतिस्पर्धालाई नै सबैभन्दा ठूलो शक्ति मान्नुपर्ने हुन सक्छ। ठूलो प्रसारण सम्झौताका कारण मध्यमस्तरका क्लबहरू पनि आर्थिक रूपमा बलिया बनेका छन्। उनीहरूको स्तर सम्भवतः पहिलेभन्दा उच्च भएको छ।  

उपाधि दाबेदार आर्सनल

अन्य क्लबहरूमा देखिएको परिवर्तन र अस्थिरताबिच आर्सनलसँग लगातार दोस्रो पटक उपाधि जित्ने उत्कृष्ट अवसर छ। बेलायती सट्टेबाजहरूले पनि आर्सनललाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरेका छन्।

ब्राजिलियन मिडफिल्डर ब्रुनो गिमारेस न्युक्यासलबाट आर्सनल आएका छन्। यसले पहिले नै बलियो रहेको मिडफिल्डलाई थप मजबुत बनाउनेछ। बायाँ विङ्गर क्रिस्टोस जोलिस क्लब ब्रुगबाट आएका छन्। उनले लियान्द्रो ट्रोसार्डको स्थान लिनेछन्। टोलीसँग लगभग हरेक पोजिसनमा पर्याप्त विकल्पसमेत छन्। तर आर्सनलका लागि समस्या डिफेन्सका मुख्य खेलाडी विलियम सालिबाको चोट हो। फ्रान्सेली सेन्टर ब्याक सिजनको सुरुआती केही महिना मैदानबाहिर रहनेछन्। त्यससँगै अर्को अदृश्य चुनौती पनि छ। अन्ततः लिग जितिसकेपछि टोलीको तीव्रता वा प्रेरणामा कमी आउला?  

आर्टेटा भने यस्तो हुन नदिनेमा दृढ छन्। म्यानचेस्टर युनाइटेडमा मार्कस रासफोर्ड पुनः फर्किएका छन्। इङ्ल्यान्डका विङ्गर बार्सिलोनामा लोनमा समय बिताएपछि ओल्ड ट्राफोर्ड फर्किएका हुन्। तर उनी युनाइटेडमै रहन्छन् या रहँदैनन् भन्ने अझै स्पष्ट छैन। चेल्सीका महान् खेलाडीमध्ये एक फ्रान्क लाम्पार्ड पनि पुनः प्रिमियर लिगमा फर्किएका छन्, कोभेन्ट्रीको प्रशिक्षकका रूपमा।

प्रिमियर लिगको संस्थापक सदस्यमध्ये एक रहेको कोभेन्ट्री सन् २००१ मा रेलिगेट भएको थियो। त्यसपछि क्लब गम्भीर आर्थिक संकटमा फस्यो। आफ्नो घरेलु मैदानसमेत गुमायो र अन्ततः चौथो तहसम्म झर्यो। ‘स्काई ब्लुज’ को पुनरागमन इङ्लिस फुटबलको प्रेरणादायी कथामध्ये एक हो। इप्सविच र हलसँगै प्रिमियर लिगमा बढुवा भएका तीन टोलीमध्ये एक कोभेन्ट्री हो।  

तीन अर्ब डलर र अझै बढ्दो खर्च  

खर्च गर्ने क्षमताका हिसाबले इङ्ल्यान्ड अरूभन्दा निकै अगाडि छ। यस ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लबहरूले नयाँ खेलाडी अनुबन्धित गरेको खर्च अहिलेसम्म करिब तीन अर्ब डलर पुगिसकेको छ। सबैभन्दा महँगा अनुबन्धनहरू मिडफिल्डरका छन्। चेल्सीले मोर्गन रोजर्सका लागि १५ करोड ६० लाख डलर, म्यानचेस्टर सिटीले इलियट एन्डरसनका लागि १५ करोड ५० लाख डलर, टोटनहमले सान्ड्रो टोनालीका लागि १३ करोड ३० लाख डलर र आर्सनलले गिमारेसका लागि १० करोड डलर खर्च गरे।

जाबी अलोन्सोले टोली पुनर्निर्माण गरिरहेका कारण चेल्सीको शुद्ध खर्च मात्रै करिब ३० करोड डलर पुगेको छ। लगातार दुई सिजन १७औं स्थानमा रहेपछि टोटनहमले पनि आफ्नो ट्रान्सफर नीति परिवर्तन गरेको छ। यसले नयाँ खेलाडीमा करिब ३० करोड डलर खर्च गरिसकेको छ। विश्वकपपछि ट्रान्सफर गतिविधि तीव्र हुने भएकाले विन्डो अझै दुई साता खुला रहनेछ।  

गत सिजन इङ्लिस फुटबलमा देखिएको महत्वपूर्ण परिवर्तन पुरानो शैलीका रणनीतितर्पm फर्किनु थियो। लामो थ्रोबाट बललाई पेनाल्टी क्षेत्रमा पुर्याउने, सेट पिसमा बढी निर्भर हुने र गोलकिपरले लामो क्लियरेन्स गर्ने जस्ता शैली बढेका थिए। यसलाई ग्वार्डिओलाबाट प्रभावित बल पोसेसनमा राखेर खेल्ने शैलीप्रतिको एक किसिमको अस्वीकारका रूपमा पनि हेरिएको थियो। अब ग्वार्डिओला प्रिमियर लिगबाट बाहिरिएपछि यो प्रवृत्ति अझ बढ्ला त?

बर्नमाउथका मार्को रोज, क्रिस्टल प्यालेसका पिएर साज, फुलहमका अल्भारो अर्बेलोआ र चेल्सीका अलोन्सो पहिलो पटक प्रिमियर लिगमा प्रशिक्षकको भूमिका सम्हाल्दै छन्। नयाँ प्रशिक्षकहरूको यो लहरले प्रिमियर लिगमा फेरि अर्को नयाँ खेलशैली स्थापित गर्ला? जबाफका लागि नयाँ सिजनलाई पर्खर्नुो विकल्प हुने छैन।

प्रकाशित: २ भाद्र २०८३ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App