खेल

युएईद्वारा नेपाललाई १०१ रनको सामान्य लक्ष्य

एसिसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसामु १०१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियास्थित वायुमास ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको यूएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमा समेटियो।

यूएईले १७ रनमै तीन विकेट गुमाउँदै कमजोर सुरुआत गरेको थियो। नेपाली बलरहरूको कसिलो प्रदर्शनका कारण यूएईले कुनै पनि समयमा ठूलो साझेदारी बनाउन सकेन।

यूएईका लागि मेहुल प्रणव कुलकर्णीले सर्वाधिक ३० रन बनाइन्। लाभान्या केनीले २५ रन तथा नेहा कुमारी १९ रनमा अविजित रहिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै ३.५ ओभरमा मात्र ८ रन खर्चेर तीन विकेट लिइन्। अनु कडायतले चार ओभरमा २२ रन दिएर तीन विकेट हात पारिन्। तृष्णा विश्वकर्माले दुई तथा मनीषा उपाध्यायले एक विकेट लिँदै यूएईको इनिङ्स समेट्न महत्वपूर्ण भूमिका खेले।

नेपालले प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै सेमिफाइनल पुगेको हो। समूह विजेताका रूपमा क्वाटरफाइनल पुगेको नेपालले जापानलाई नौ विकेटले पराजित गर्दै सेमिफाइनलसँगै आगामी यू–१९ महिला एसिया कपमा पनि स्थान सुरक्षित गरिसकेको छ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रकाशित: १ श्रावण २०८३ १३:३४ शुक्रबार