खेल

युएईको लज्जास्पद ब्याटिङ: १६ रनमै ७ विकेट गुम्यो, लक्ष्य २९३ रनको

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले संयुक्त राज्य अमेरिका (युएसए) विरुद्ध लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ।

दुबईमा २९३ रनको विशाल लक्ष्य पछ्याएको युएईले हाल ११ ओभरको खेल सकिँदा मात्र २२ रन जोडेर ७ महत्त्वपूर्ण विकेट गुमाउँदै हारतर्फ उन्मुख छ। युएईले मात्र १६ रन जोड्दा आफ्ना ७ ब्याट्सम्यानलाई गुमाइसकेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा २९२ रनको विशाल योगफल तयार पारेको थियो।

अमेरिकाको सुरुवात खराब रहे पनि मध्यक्रमका ब्याट्सम्यान साईतेजा मुक्कामल्ला र मिलिन्द कुमारले उत्कृष्ट शतकीय पारी खेले।

मुक्कामल्लाले १४९ बलमा १० चौका र ३ छक्कासहित अविजित १३७ रन बनाए भने कुमारले १२५ बलमा ११ चौका र १ छक्काको मद्दतले अविजित १२३ रन जोडे।

एक समय ६.६ ओभरमा २८ रनमा ३ विकेट गुमाएको अमेरिकाका लागि यी दुईले चौथो विकेटका लागि कीर्तिमानी २६४ रनको अविजित साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

युएईका लागि जुनैद सिद्दिकीले २ तथा मोहम्मद रोहिदले १ विकेट लिए।

२९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युएईको सुरुवात निकै दयनीय रह्यो।

अमेरिकी बलरहरू हाबी हुँदा युएईले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको थियो। त्यसपछि लगातार विकेट गुमाएको युएईका लागि मोहम्मद वासिमले बनाएको ८ रन नै सर्वाधिक रह्यो। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

अमेरिकाका बलर रुशिल उगारकरले ४ तथा सौरभ नेत्रवलकरले ३ विकेट लिएर युएईको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए।

यो समाचार तयार पार्दासम्म युएईलाई जितका लागि ३९ ओभरमा २७१ रन आवश्यक छ भने उसका मात्र ३ विकेट बाँकी छ। युएईको हार लगभग निश्चित देखिएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ १६:३२ सोमबार