युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले हराउँदै युएई लगातार तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो।
सेमिफाइनलमा हङकङले दिएको ७१ रनको झिनो लक्ष्य युएईले ११.१ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो। उसका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ तथा अक्षदीप नाथले ११ रन जोडे।
हङकङका लागि बलिङतर्फ कप्तान यासिम मोर्ताजा, एसहान खान र किञ्चित साहले एक/एक विकेट लिए। त्यसअघि मलेसियाको बाङ्गीस्थित वाइसडी-युकेएम क्रिकेट ओभलको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको हङकङ ३०.१ ओभरमा ७० रनमै अलआउट भएको थियो।
उसका लागि जिशान अलीले २८ बलमा एक छक्का र एक चौकासहित सर्वाधिक १७ रन जोडे। बाँकी ब्याटरको प्रदर्शन सम्झनलायक रहन सकेन्।
हङकङलाई सस्तैमा रोक्ने क्रममा युएईका लागि हैदर अलीले १० ओभरमा १४ रन मात्र दिएर सर्वाधिक ६ विकेट लिए। युएईले अब सेमिफाइनल जित्ने टिमविरुद्ध उपाधिका लागि भिड्नेछ।
आजै भइरहेको अर्को सेमिफाइनलमा नेपाल र ओमान प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ।
प्रकाशित: २५ भाद्र २०८३ ११:१९ बिहीबार