खेल

यु-१४ टि-२० क्रिकेट प्रतियोगिता भाद्र २४ देखि हुने

राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु-१४ टि-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ।  

टुर्नामेन्ट भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म आयोजना हुने छ। नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको समूह चरण र सेमि-फाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ।  

राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनिल अमात्यले उमेर समूहका खेलाडीले नै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने भएकाले यु-१४ क्रिकेट आयोजना गरेको बताए।  

यस्तै प्रतियोगिताको मुख्य प्रायोजकसमेत रहेको काठमाडौं वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीले आयोजकलाई शुभकामना दिँदै यस्ता प्रतियोगिता नियमित आयोजना हुनुपर्नेमा जोड दिए।  

यस्तै प्रतियोगिताको प्राविधिक निर्देशक रविन्द्र गुप्ताले ग्रासरुट क्रिकेट र युवा क्रिकेटको विकासमा यस्तो प्रतियोगिता महत्वपूर्ण रहने बताउँदै आयोजकको तारिफ गरे।  

प्रतियोगिताको फाइनल खेल तल्लो वा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुने छ।  

प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टरबाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीबाट १ टिम सहभागी हुनेछन्।  

सहभागी टिमलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुई टिम क्वार्टर फाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ।  

प्रतियोगिताको विजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।  

प्रतियोगितामा विधागततर्फ ‘प्लेयर अफ द टुर्नामेन्ट’, ‘बेस्ट ब्याटर’, ‘बेस्ट बलर’ र ‘बेस्ट फिल्डर’लाई पनि पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ। 

प्रकाशित: ९ भाद्र २०८२ ०८:१९ सोमबार