पक्कै पनि यो उनीहरूको अन्तिम विश्वकप हो तर उमेरले चालिसको दशक छोइसक्दा पनि लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा अझै केन्द्रबिन्दुमा छन्।
दुई दिनअघि मात्र ३९औं जन्मदिन मनाइरहेका मेसीले सोमबार अस्ट्रियाविरुद्ध दुई गोल गर्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो अग्रता थप मजबुत बनाए। उनको कुल गोलसंख्या १८ पुगेको छ। यता ४१ वर्षीय रोनाल्डोले मंगलबार उज्बेकिस्तानविरुद्ध दुई गोल गरे। यससँगै लगातार ६ वटा फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्ने इतिहास रोनाल्डोले रचे। अर्जेन्टिनाको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक र अस्ट्रियाविरुद्ध दुई गोलपछि सबैको ध्यान मेसीतर्फ केन्द्रित रह्यो। त्यसैले रोनाल्डोमाथि पनि दबाब स्वाभाविक थियो। पोर्चुगलले पहिलो खेलमा डिआर कंगोसँग १–१ को बराबरी खेल्दा रोनाल्डोको प्रदर्शन अपेक्षाअनुसार रहेन।
खेलपछि उनको आलोचना भयो र केही टोलीका साथीहरूसँग सम्बन्ध बिग्रिएको चर्चा पनि चल्यो तर उज्बेकिस्तानविरुद्ध उनले मैदानमै आफ्नो जबाफ दिए। खेलको छैटौं मिनेटमा गोल गर्दै रोनाल्डोले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ विश्वकपमा गोल गर्ने कीर्तिमान बनाए। यी सबै संस्करणमा खेलेका अर्को खेलाडी मेसी पनि हुन् तर मेसीले सन् २०१० विश्वकपमा गोल गर्न सकेका थिएनन्। उज्बेकिस्तानविरुद्ध दुई गोलले रोनाल्डोको मुख्य प्रतियोगितमा ११ खेल लामो गोलरहित यात्राको पनि अन्त्य गर्यो। उनले यसअघि २०२२ विश्वकपको पहिलो खेलमा घानाविरुद्ध गोल गरेका थिए। ‘म फर्किएँ,’खेलपछि क्यामेरातर्फ हेर्दै रोनाल्डोले भने। त्यो अभिव्यक्तिले उनीमाथि रहेको दबाब र आलोचनाको प्रभावलाई स्पष्ट देखाउँथ्यो।
‘उनी पनि एक मानव हुन्,’ पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने, ‘भावना राख्ने अधिकार उनलाई पनि छ।’ इङ्ल्यान्ड पूर्वस्टार वायन रुनीले आलोचना सुन्छन् र मैदानमा त्यसको जबाफ दिन्छन् भन्दै रोनाल्डोको यही विशेषता रहेको प्रतिक्रिया दिए। पछिल्ला दुई दशकमा रोनाल्डोले धेरै कम अवसरमा आफूलाई फेरि प्रमाणित गर्नुपर्ने अवस्था भोगेका छन् तर यसपटक उनले त्यो पनि गरेर देखाए।
४१ वर्ष १३८ दिनको उमेरमा गोल गर्दै रोनाल्डो विश्वकप इतिहासका दोस्रो सबैभन्दा बढी उमेरका गोलकर्ता बनेका छन्। उनीभन्दा अगाडि क्यामरुनका महान् खेलाडी रोजर मिल्ला छन्। रोनाल्डो र मेसी दुवैले आफ्नो देशका लागि पहिलो र पछिल्लो विश्वकप गोलबिच २० वर्ष ११ दिनको दुरी कायम गरेका छन्, जुन अर्को रोचक संयोग हो।
जब रोनाल्डोलाई मेसीले पहिलो दुई खेलमै पाँच गोल गरेको विषयमा प्रश्न गरियो। उनले भने, ‘म अरूको बारेमा सोच्दिनँ। एमबाप्पेले पनि गोल गरेका छन्।’
तर वास्तविकता के हो भने मेसी र रोनाल्डोबिचको प्रतिस्पर्धाले दुवैलाई अझ उत्कृष्ट बन्न प्रेरित गर्दै आएको छ। प्रशिक्षक मार्टिनेजले यो प्रतिस्पर्धाले दुवै खेलाडीलाई निरन्तर अगाडि बढ्न मद्दत गरेको पनि स्विकारे। ३५ वर्ष पार गरेपछि मेसीले विश्वकपमा नयाँ स्तरको प्रदर्शन गरिरहेका छन्। उनले पछिल्ला नौ विश्वकप खेलमा १२ गोल गरेका छन्। त्यसअघि १८ देखि ३४ वर्षको उमेरसम्मका १९ विश्वकप खेलमा उनले ६ गोल गरेका थिए।
रोनाल्डोले पनि ३५ वर्षपछि विश्वकप र युरोपियन च्याम्पियनसिपका १६ खेलमा आठ गोल गरेका छन्। विश्वकपपछि रोनाल्डोको अर्को लक्ष्य करियरका एक हजार गोल पूरा गर्नु हुनेछ। उज्बेकिस्तानविरुद्धको दुई गोलपछि उनी ९७५ गोलमा पुगेका छन्। ऐतिहासिक उपलब्धिबाट २५ गोल टाढा छन्। उनीहरू पहिलेजस्ता बालोन डिओर जित्ने युवा सुपरस्टार होइनन्। युरोपका शीर्ष पाँच लिग बाहिर खेल्न थालेपछि उनीहरू पहिले जति चर्चामा पनि छैनन् तर एकअर्कासँग प्रतिस्पर्धा गर्दै नयाँ कीर्तिमान बनाउने उनीहरूको यात्रा भने अझै उत्तिकै रोचक छ।
यदि पोर्चुगल र अर्जेन्टिना दुवै नकआउट चरण पार गर्न सफल भए भने जुलाई ११ मा क्वार्टरफाइनलमा मेसी र रोनाल्डो आमनेसामने हुन सक्छन्। त्यो विश्व फुटबलको एक ऐतिहासिक क्षण बन्ने छ तर यी दुई महान् खेलाडीलाई हेर्दा अर्को प्रश्न पनि उठ्छ। के साँच्चै यो उनीहरूको अन्तिम विश्वकप हो? फुटबलका यी दुई अद्भुत प्रतीकका लागि अब केही पनि असम्भव जस्तो लाग्दैन। -बीबीसी
प्रकाशित: ११ असार २०८३ ०८:४५ बिहीबार