नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सोमबार दुई खेल हुँदैछन्।
पहिलो खेलमा काठमान्डु गोर्खाज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
काठमान्डु गोर्खाजको कप्तानी करण केसीले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। काठमान्डु गोर्खाजमा अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर र भारतीय विकेटकिपर ब्याटर केएस भरत मुख्य आकर्षणका रूपमा छन्। त्यस्तै, कर्णालीमा सोमपाल कामी, मार्क वाट, अकबर अली र गुलशन झाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ। काठमान्डु गोर्खाज बलियो ब्याटिङको मद्दतमा जित निकाल्ने योजनामा हुनेछ भने कर्णाली सन्तुलित टोलीका रूपमा मैदान उत्रनेछ।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्। कीर्तिपुरमै हुने उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।
एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्। लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन्। लिग चरणपछि अंकतालिकाका शीर्ष चार टोलीले उपाधिका लागि हुने प्लेअफमा स्थान बनाउनेछन्।
प्रकाशित: १६ कार्तिक २०८३ ०६:५६ सोमबार