नेपालका दुई ई स्पोर्ट्सका टिम पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् । काठमाडौंमा सम्पन्न पब्जी मोबाईलको ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थानमा रहदै ट्रेन टू किल (टीटूके) र होरा ई स्पोर्ट्स ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका हुन् ।
ई स्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाईलले काठमाडौंमा आयोजना गरेको चार दिने क्षेत्रीय छनोटमा १६ टिम मध्य उत्कृष्ट प्रर्दशन गर्दै नेपालका दुई टिमले ग्लोबल ओपनमा स्थान बनाएका हुन् ।
टीटूके १ सय ८८ अंक सहित समग्रमा दोस्रो स्थानमा रह्यो, होरा ई स्पोर्ट्स १ सय ७५ अंक सहित तेस्रो स्थानमा रह्यो । नेपालकै अर्को टिम एचएलएक्स चौथों स्थानमा रहेपनि ग्लोबल ओपनमा स्थान बनाउन सकेन । पाकिस्तानको फोर थ्रिभ्स पहिलो स्थानमा रहदै ग्लोबल च्याम्पियनसिपमा छनोट भएको छ ।
पहिलो बनेको फोर थ्रिभ्सले ९ हजार अमेरिकी डलर, दोस्रो टी टू केले ५ हजार ५ सय अमेरिकी डलर, तेस्रो होरा ई स्पोर्ट्सले ४ हजार ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता खेलाडीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवहाक अध्यक्ष हिमबिक्रम केसीले पुरस्कृत गरेका थिए ।
चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको टिकटबाट जम्मा भएको ५० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत कार्यक्रमलाई नीजि तथा विभिन्न संघ संस्थाले सहयोग गरेका थिए । काठमाडौंमा सम्पन्न भएको पीएमजीओ साउथ एसिया कार्यक्रम दक्षिण एसियाकै उत्कृष्ट ल्यान ईभेन्ट मध्य एक भएको ईशानका सचिव आशिष दाहालले बताए । कार्यक्रमको समापन समारोहमा सचिव दाहालले अझ ठुला ई स्पोर्ट्सका अन्तराष्ट्रिय कार्यक्रम नेपालमा ल्याउन संघले पहल गरिरहेको बताएका थिए ।
प्रकाशित: ४ आश्विन २०८३ १९:४९ आइतबार