खेल

ट्रम्पले इन्फान्टिनोलाई हटाए ‘ठूलो गल्ती’ हुने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाबमा रहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाइए त्यो ‘ठूलो गल्ती’ हुने बताएका छन्।

युईएफए, कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी)ले इन्फान्टिनोमाथि विश्वास तोडेको आरोप लगाउँदै खुला पत्र जारी गरेपछि ट्रम्पको यस्तो धारणा आएको हो। ती संस्थाहरूले फिफा फर्वार्ड इन्टरप्राइजेज (एफएफई) प्रस्तावका क्रममा इन्फान्टिनोले ‘छल’ गरेको आरोप लगाएका छन्।

एफएफई योजनाअन्तर्गत विश्वकपसहित फिफाका सबै प्रतियोगिताको व्यावसायिक तथा टिकट बिक्री अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गर्ने प्रस्ताव थियो। उक्त कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने योजना बनाइएको थियो। सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘जुनसुकै कारणले भए पनि फिफाले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे सोच्नु नै ठूलो गल्ती हुनेछ।’

 उनले इन्फान्टिनोको प्रशंसा गर्दै उनी नेतृत्वमा भएको विश्वकप अहिलेसम्मकै सफल विश्वकप भएको दाबी गरेका छन्। ट्रम्पले इन्फान्टिनो हटेमा आगामी विश्वकप त्यति सफल र नाफामूलक नहुनेसमेत बताएका छन्। सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेका थिए। फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले उपाधि जितेको थियो। एफएफई योजनाबारे पहिलोपटक जुलाई ३१ मा प्रतिक्रिया दिँदा ट्रम्पले आफूले यस विषयमा इन्फान्टिनोसँग कुराकानी नगरेको बताएका थिए।

एफएफईका लागि प्रस्तावित लगानी समूहको नेतृत्व अमेरिकी भेन्चर क्यापिटल कम्पनी थ्राइभ इटरनलले गर्ने अपेक्षा गरिएको थियो। उक्त कम्पनी ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ जोसुवा कुशनरले स्थापना गरेका हुन्। इन्फान्टिनो र ट्रम्पबीच पछिल्लो समय निकट सम्बन्ध रहँदै आएको छ। सन् २०२५ को डिसेम्बरमा इन्फान्टिनोले ट्रम्पलाई पहिलोपटक प्रदान गरिएको फिफा शान्ति पुरस्कारसमेत दिएका थिए।

प्रकाशित: २७ श्रावण २०८३ १०:०२ बुधबार