खेल

संकटमोचक सोमपाल

नेपाली क्रिकेटमा ३१ वर्षे सोमपाल कामीको परिचय बलरका रूपमा स्थापित छ। नेपाली राष्ट्रिय टोलीका सबैभन्दा पाका र अनुभवी तीव्र गतिका बलर सोमपाल तीन पटक आइसिसी टी ट्वान्टी विश्वकप खेल्ने एक्ला नेपाली खेलाडी हुन् तर नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा बिहीबार उनको परिचय बलरमा मात्र सीमित रहेन।

ब्याटिङमा पनि उनी संकटमोचक बने। बलिङबाट उनी स्थापित नै हुन्। सोमपालले कप्तानी इनिङ खेल्दै कर्णाली याक्सलाई सनसनीपूर्ण जित दिलाए। त्रिवि क्रिकेट स्टेडियममा विराटनगर किङ्सले १८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। यो लक्ष्य पछ्याउने क्रममा कर्णाली ६.५ ओभरमा ५७ रन जोड्दा पाँच विकेट गुमाएर संकटमा थियो।

 यस्तो अवस्थामा सोमपालले ब्याट लिएर क्रिजमा आए। यस्तो स्थितिमा अलराउन्डर गुलसन झा आउने अनुमान थियो। तर कर्णालीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बलर सोमपालमाथि विश्वास गरे। मल्लको यो निर्णय चुनौतीपूर्ण नै थियो। तथापि उनले यही निर्णय लिए र जुन सही साबित पनि भयो। अन्ततः सोमपालले नै खेलको दिशा परिवर्तन गरिदिए।

पहिलोपल्ट सातौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ३२ बलमा ६२ रनको अविजित इनिङ खेले। यो उनको पहिलो टी ट्वान्टी आई अर्धशतक पनि हो। जुन इनिङमा उनले चार चौका र तीन छक्का प्रहार गरे।

सोमपालको आक्रामक ब्याटिङमा कर्णालीले एक बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। सन् २०१४ को विश्वकप खेलेका सोमपालले नेपाली टोलीको बलिङमा संकटमोचक मात्र होइन, ब्याटिङमा पनि बन्न सक्छन् भन्ने उनले देखाइदिए। कर्णालीले चार विकेटको जित निकाल्दा सोमपालको योगदान ब्याटिङमा मात्र सीमित रहेन। त्यसअघि बलिङमा उनले चार विकेट लिएका थिए। यसरी बल र ब्याट दुवैबाट प्रभाव जमाएका सोमपालको प्रदर्शन एनपिएलको तेस्रो संस्करणकै स्मरणीय व्यक्तिगत प्रदर्शनमध्ये एक बन्यो।

उनी म्यान अफ दी म्याच पनि भए। विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीले सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको थियो। तर, दोस्रो ओभरमा मार्क वाट एक रनमै बोल्ड भएपछि टोली दबाबमा आयो। तेस्रो ओभरमा अरिफुल इस्लामले प्रतीश जिसीको बलमा २२ रन जोड्दै आशा जगाए।

अरिफुलले १२ बलमा ३२ रन बनाए पनि चौथो ओभरमा एन्जेलो म्याथ्युजको बलमा आउट भए। त्यसपछि हुसेन तलत, दीपक डुम्रे र अकबर अली पनि सस्तैमा पभेलियन फर्किए। ६.५ ओभरमा ५७/५ को अवस्थामा पुगेपछि कर्णालीको जित कठिन देखिएको थियो। तर, सोमपालले दबाबलाई अवसरमा बदले।

उनले पवन सर्राफसँग छैटौं विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए। पवनले २८ बलमा ३६ रन बनाए। १४औं ओभरमा पवन आउट भए पनि सोमपालको आक्रामकता रोकिएन। सातौं विकेटका लागि गुलसन झासँग ६४ रनको अविजित साझेदारी गर्दै उनले कर्णालीको जित सुनिश्चित गरे।

गुलसनले २८ रन बनाए। एक समय हारको संघारमा पुगेको कर्णाली सोमपालको धैर्य, आक्रामकता र जिम्मेवारीबोधका कारण लक्ष्यसम्म पुग्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सात विकेट गुमाएर १८६ रन बनाएको थियो। लोकेश बमको आक्रामक ब्याटिङमा विराटनगरले चुनौतीपूर्ण योगफल तयार पारेको थियो। तथापि खराब बलिङ र फिल्डिङपछि विराटनगर एकपल्ट फेरि जितनजिक पुगेर चुक्यो।

लोकेशले ५२ बलमा ९ चौका र ९ छक्कासहित १०० रन बनाए। उनले एन्जेलो म्याथ्युजसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गरे। म्याथ्युजले ३१ र वेस्ट इन्डिजका आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे।

कर्णालीका लागि सोमपालले चार ओभरमा चार विकेट लिए। यस क्रममा उनले आन्द्र रसेल, एन्जेलो म्याथ्युज, लोकेश बम र चरित असलन्कालाई आउट गरे। मार्क वाट र नन्दन यादवले समान एक विकेट लिए। विराटनगरको इनिङमा लोकेशले शतक बनाए पनि टोलीको बलिङ र फिल्डिङ कमजोर हुँदा जित हात पार्न सकेन। खेलपछि सोमपालले यो जितलाई आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीको सामूहिक प्रयासबाट सम्भव भएको बताए।

उनले कर्णालीले एनपिएलको उपाधि जित्ने विश्वाससमेत व्यक्त गरे। ‘खेल मात्र होइन, एनपिएल नै जित्छौं,’ उनको आत्मविश्वास थियो। सोमपालका अनुसार १८० रन आसपासको लक्ष्य पछ्याउन सकिने विश्वास थियो तर पावर प्लेमा विकेट गुमेपछि टोली दबाबमा परेको थियो। पाँच विकेट झरेपछि प्रशिक्षक ज्ञानेन्द्र मल्लले आफूलाई ब्याटिङमा पठाएको उनले बताए। पवन र गुलसनले दिएको साथले जित सम्भव भएको उल्लेख गर्दै सोमपालले गुलसनको प्रदर्शनबाट आफू निकै खुसी रहेको बताए।

कर्णालीले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। विराटनगरलाई हराएसँगै कर्णालीले लगातार दोस्रो जित निकाल्यो। चितवन राइनोजसँग पहिलो खेल गुमाएको विराटनगरले भने लगातार दोस्रो हार बेहोरेको छ।

नेपाली राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडीमध्येका सोमपालले आफ्नो करिअरमा बलिङबाट धेरै पटक प्रभाव पारेका छन् तर विराटनगरविरुद्धको खेलले उनको ब्याटिङ क्षमताको अर्को पक्ष पनि उजागर गर्‍यो। संकटमा टोलीको जिम्मेवारी सम्हाल्नु र बलिङमा चार विकेट लिनु उनको अलराउन्ड क्षमताको प्रमाण बन्यो। कर्णालीका लागि यो दुई अंकको जित मात्र थिएन। कठिन परिस्थितिमा पनि खेल जित्न सकिन्छ भन्ने आत्मविश्वास थियो। त्यो आत्मविश्वासको केन्द्रमा थिए कप्तान सोमपाल। जुन अघिल्लो खेलमा युवा बलर युनिससिंह ठकुरी थिए।

बिहीबार पहिलो खेलमा इङ्लिस ब्याटर मोइन अलीको अलराउन्ड प्रदर्शन प्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ। हारबाट सिजन सुरुआत गरेको जनकपुरले बलिङ र ब्याटिङमा सुधार गर्दै तेस्रो पहिलो जित रचेको हो।

कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमान्डु गोर्खाजमाथि आठ विकेटको फराकिलो जित निकाल्यो। जनकपुरको जितमा अनुभवी मोइन अलीले अलराउन्ड प्रदर्शन गरे। साथै जनकपुरले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजले ११६ को झिनो लक्ष्य दिएको थियो। जनकपुरले उक्त लक्ष्य १७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा भेट्टायो।

प्रकाशित: १३ कार्तिक २०८३ ०७:५६ शुक्रबार