त्रिभुवन आमी क्लब १३औं एनएसए कप पौडी च्याम्पियनसिपमा सर्वाधिक ९०५ फिना अंकका साथ च्याम्पियन भएको छ ।
सातदोबाटोस्थित राष्ट्रिय हिटिङ पौडी पोखरीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा आर्मी च्याम्पियन हुँदा शीर्ष तीन स्थानमा विभागीय टोली नै हाबी भए ।
नेपाल पौडी संघको आयोजनामा सम्पन्न दुईदिने च्याम्पियनपिमा नेपाल पुलिस क्लब सात सय १९ र एपिएफ चार सय ७२ अंकसहित दोस्रो र तेस्रो भए । यस प्रतियोगितामा कुल ३१ स्वर्ण पदकका लागि १७ वटा टोलीका एक सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, एउटा विधामा भने प्रतिस्पर्धी नपुग्दा खेल आयोजना भएन । तीनवटा राष्ट्रिय कीर्तिमान बनेको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो । दोस्रो दिन पनि १५ स्वर्ण पदकको टुङ्गो लाग्यो ।
पुरुष चार सय मिटर फ्रिस्टाइलमा जेम्सका कल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । उनले चार मिनेट १४.२४ सेकेन्ड समय लगाए । यस विधामा अथर्भ सिंहको चार मिनेट १६.७ सेकेन्डको कीर्तिमान थियो । आर्मीका सौरेनबहादुर सिंहले रजत र सुदूरपश्चिमका अथर्भले कांस्य पदक जिते । पुरुषकै ५० मिटर ब्रेस्टस्ट्रोकमा कोसीका विकास कुमालले कीर्तिमानसहित स्वर्ण पदक प्राप्त गरे ।
उनले आफ्नै नाममा रहेको ३०.५३ सेकेन्डको समय सुधार गरेका हुन् । यसपल्ट उनले ३०.३९ सेकेन्डको समय निकाले । एपिएफका जाडेन श्रेष्ठ र सगरमाथाका आरेक कर्मचार्य क्रमशः दोस्रो र तेस्रो भए । एक सय मिटर ब्याकस्ट्रोकमा जाडेनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।
उनले आफ्नै नाममा रहेको एक मिनेट १.४७ सेकेन्डको समय सुधार गरेका हुन् । यसपल्ट जाडेनले एक मिनेट ०.५९ मिली सेकेन्ड समयमा दूरी पार गरे । यस विधामा एपिएफका निर्णय थापाले रजत र पुलिस क्लबका आरुस अवालेले कांस्य पदक प्राप्त गरे । यस विधाको महिलामा आर्मीकी मिखा श्रेष्ठले स्वर्ण जितिन् ।
उनले एक मिनेट ८.४३ सेकेन्ड समय लगाइन् । ब्रिटिस स्कुलकी स्निग्धा शेरचनले रजत र जेम्सकी श्रेया महर्जन कांस्य पदक जित्न सफल भए । एक सय मिटर ब्रेस्टस्ट्रोकमा कोसीका विकास कुमालले कीर्तिमानसहित स्वर्ण पदक जिते । उनको यो दोस्रो कीर्तिमान पनि हो । उनले आफ्नै नाममा रहेको एक मिनेट ७.५० सेकेन्डको समय सुधार गरेका हुन् ।
यसपल्ट उनले एक मिनेट ६.८५ सेकेन्डको समय निकाले । यस विधामा एपिएफका जाडेन र आर्मीका आरभ अग्रवाल क्रमशः दोस्रो र तेस्रो भए । यसअघि पहिलो दिन जेम्सका कल्किनले १५ सय मिटर फ्रिस्टाइल, इरभिनले दुई सय मिटर फ्रिस्टाइल र सौर्यनले एक सय मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
प्रकाशित: २१ मंसिर २०८२ २०:४१ आइतबार