खेल

इन्फान्टिनोको योजनाको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरलाई विश्व फुटबलको सर्वोच्च निकायले पदबाट हटाएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विवादास्पद लगानी योजना सार्वजनिक रूपमा आलोचना गरेको तीन साताभन्दा कम समयमै लामोर बर्खास्त भएका हुन्।

फिफाले सोमबार लामोरसँगको प्रमुख सञ्चालन अधिकृतका रूपमा रहेको कार्यसम्बन्ध १७ अगस्ट २०२६ देखि अन्त्य भएको पुष्टि गरेको छ। फिफाले लामोरले दुई वर्ष संस्थाका लागि गरेको सेवाप्रति धन्यवाद दिँदै आगामी भविष्यका लागि शुभकामना दिएको जनाएको छ।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सोमबार साँझ कर्मचारीलाई पठाएको इमेलमा फिफा र लामोरबीच आपसी सहमतिमा अलग हुने निर्णय भएको जानकारी दिएका थिए।

तर, लामोरले गत महिना इन्फान्टिनोको नेतृत्वमा अघि बढाइएको फिफा फर्वार्ड इन्टरप्राइजेज (एफएफई) योजनाको कडा आलोचना गरेका थिए। निजी लगानीकर्तालाई फिफाका विभिन्न प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने प्रस्ताव गरिएको उक्त योजना पछि फिफाले स्थगित गरिसकेको छ।

लामोरले उक्त योजनालाई ‘एक व्यक्तिको परियोजना’ भन्दै फिफाको प्रशासनसमेत यसबारे ‘भ्रममा पारिएको’ दाबी गरेका थिए। 

लामोर नोभेम्बर २०२४ मा फिफामा आबद्ध भएका थिए। त्यसअघि उनले युरोपेली फुटबल महासंघ (यूईएफए) मा उपमहासचिवका रूपमा काम गरेका थिए। उनी फिफा अध्यक्ष इन्फान्टिनोभन्दा दुई तह तलको व्यवस्थापन संरचनामा थिए।

यसै महिनाको सुरुवातमा मोरक्कोमा भएको वरिष्ठ अधिकारीहरूको बैठकमा इन्फान्टिनोले समर्थन पाएका थिए। तर उक्त बैठकमा लामोरलाई आमन्त्रण गरिएको थिएन।

फिफा महासचिव ग्राफस्ट्रोमले फिफा परिषद्का सदस्यहरूलाई पठाएको पत्रमा लामोरसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय सावधानीपूर्वक विचार गरेर र उनको व्यक्तिगत तथा व्यावसायिक योगदानको सम्मान गर्दै गरिएको उल्लेख गरेका छन्।

प्रकाशित: २ भाद्र २०८३ ०७:२६ मंगलबार