खेल

एथलेटिक्समा तीनवटा राष्ट्रिय जुनियर कीर्तिमान

छात्र चार गुणा चार सय मिटरमा गण्डकी प्रदेशले स्वर्ण जितेसँगै १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा कुल तीनवटा जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको छात्र चार गुणा चार सय मिटर रिलेमा गण्डकीको टोली (अतित थापा, आर्यन रानामगर, अंकित रानाभाट र सुदीप भण्डारी सम्मिलित) ले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । यो टोलीले निर्धारित दूरी तीन मिनेट २७.९ सेकेन्डमा पार गरेको हो । यसअघि तीन मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमती प्रदेशका प्रवीण रानामगर, हस्त सुनार, नीरज शाह र सन्तबहादुर दराईको नाममा थियो । उक्त कीर्तिमान गत संस्करणमा बनाएको हो । यसअघि बागमतीका अविनाश सुनारले हाईजम्पमा र भगवती खड्काले चार सय मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । एथलेटिक्समा कुल २६ वटा विधामा प्रतिस्पर्धा हुँदै छन्।

त्यसमध्ये १८ वटा विधामा प्रतिस्पर्धा हुँदा तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका हुन् । चार गुणा चार सय मिटरमा बागमतीले पनि गत संस्करणकै कीर्तिमानलाई पछि पारे पनि स्वर्ण जित्न सकेन। सप्रेश अधिकारी, नीरज शाह, हस्त सुनार र सचिन थिङ सम्मिलित बागमती तीन मिनेट ३०.७ सेकेन्डसहित दोस्रो भयो । सुदूरपश्चिम प्रदेशका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र वरुणदत्त राना तेस्रो बने । उक्त स्पर्धाको छात्रामा बागमती प्रदेशका सुरुचि मोक्तान, अनिशा थारु, भगवती खड्का र सर्मिला विक पहिलो भए । टोलीले निर्धारित दूरी ४ मिनेट १८.१ सेकेन्डमा पूरा गर्‍यो । लुम्बिनीका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विक दोस्रो तथा सुदूरपश्चिमका उषा चौधरी, विजया चटौल, स्वस्तिका शाह र कमल जैसी तेस्रो भए।

छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ पहिलो भए । उनले ६.६० मिटर जम्प गरे । बागमतीका दीपेन्द्र गिरी र विशाल गुरुङ तेस्रो स्थानमा रहे । यस स्पर्धाको छात्रामा ५.०८ मिटर जम्प गर्दै बागमतीकी अनिशा थारूले स्वर्ण जितिन् । सुदूरपश्चिमकी उषा चौधरी दोस्रो र लुम्बिनीकी गरिमा चौधरी तेस्रो भए । छात्र ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जिते । उनले ५६.३२ मिटर थ्रो गरे । लुम्बिनी प्रदेशका अमित थारूले रजत तथा कोसी प्रदेशका सोहेल मनसोलीले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । पूजाको उत्कृष्ट थ्रो ३५.४२ मिटर रह्यो । कोसीकी उमिता राई र कर्णाली प्रदेशकी सरिता शाह क्रमशः दोस्रो र तेस्रो भए।

छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनार पहिलो भए । उनले २ मिनेट ००.२ सेकेन्ड समय निकाले । कर्णालीका सुमन सुनार दोस्रो तथा लुम्बिनीका सचिन कुर्मी तेस्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी भगवती खड्का २ मिनेट २२.१ सेकेन्ड समयसाथ पहिलो भइन् । सुदूरपश्चिमकी स्वस्तिका शाह दोस्रो तथा गण्डकी प्रदेशकी आस्मा अधिकारी तेस्रो भए।  

प्रकाशित: २२ जेष्ठ २०८३ ०७:२० शुक्रबार