खेल

काठमाडौंमा तीनदिने रेफ्री सेमिनार सुरु

राष्ट्रिय तेक्वान्दो संघ–नेपालको आयोजनामा तीनदिने रेफ्री सेमिनार शुक्रबारदेखि दशरथ रंगशालास्थित संघको आफ्नै कभर्डहलमा सुरु भएको छ।

संघका अध्यक्ष महेश्वर फुयाँलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले तेक्वान्दोमा दुईवटा संघ रहेको विषयमा हालै मात्र जानकारी प्राप्त भएको उल्लेख गर्दै त्यसको समाधानका लागि राखेपले आवश्यक पहल गर्ने बताए।

कार्यक्रमका अध्यक्ष फुयाँलले खेलकुद क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने राखेपले हालसम्म विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै अब पनि सुधार नभए समस्या थप जटिल बन्न सक्ने चेतावनी दिए।

राखेप बोर्ड सदस्य शिशा सुवालले पनि एउटै खेलका एकभन्दा बढी संघ सक्रिय रहेको अवस्थाको अन्त्य गर्दै सबैलाई एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याइन्।

सेमिनारअन्तर्गत विभिन्न विधामा प्रशिक्षण तथा पुनर्ताजगी (रिफ्रेसर) कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ। यसमा क्योरुगी रेफ्री सेमिनार, क्योरुगी रेफ्री रिफ्रेसर कोर्स, पुम्से रेफ्री सेमिनार तथा पुम्से रेफ्री रिफ्रेसर कोर्स समावेश छन्।

प्रकाशित: ८ श्रावण २०८३ १८:१७ शुक्रबार