सन् २०२२ देखि रोहितकुमार पौडेलले नेपाली क्रिकेट टोलीको नेतृत्व लिएका थिए। क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लागेपछि रोहितले नेपाली टिमको कप्तानी नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका थिए।
आइसिसी विश्वकप लिग–२ मा सङ्घर्ष गरिरहेका बेला रोहितले टोलीको नेतृत्व गर्ने मौका पाए। उनी कप्तानमा नियुक्त भएसँगै नेपालको प्रदर्शनमा सुधार आयो।
रोहितको कप्तानीमा त्यस संस्करणको विश्वकप लिग–२ मा नेपालले चामत्कारिक पुनरागमन गर्दै ३६ खेलमध्ये १९ मा जित र १५ खेलमा पराजय बेहोरेको थियो। यस्तै, नेपालले दुई खेलमा अङ्क बाँडेको थियो।
पहिलो संस्करणको लिग–२ मा नेपालले तेस्रो स्थान हासिल गर्न कप्तान पौडेलको भूमिका अहम् रहेको थियो। उनले त्यस संस्करणमा ३३ खेलमा ९०९ रन बनाए।
विश्वकप लिग–२ को शीर्ष तीनमा स्थान बनाएसँगै नेपालले रोहितको कप्तानीमा पहिलोपटक आइसिसी एकदिवसीय विश्वकप खेल्ने मौका पायो, जहाँ नेपालले पहिलोपटक नै टेष्ट मान्यताप्राप्त देश वेस्ट इण्डिज र जिम्बाब्वेविरुद्ध खेल्यो।
रोहितको कप्तानीमा नेपालले पहिलोपटक सन् २०२३ मा एसीसी प्रिमियर कपको उपाधि जित्यो। त्यस प्रतियोगिताको विजेता बनेसँगै नेपालले पहिलोपटक एसीसी एसिया कप खेल्ने मौका पायो।
एकदिवसीय ढाँचाको उक्त एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता शक्तिशाली क्रिकेट टोलीको सामना गर्यो।
रोहितको कप्तानीमा नेपालले एकदिवसीयभन्दा टी–२० आईमा झन उत्कृष्ट प्रदर्शन गर्यो। उनको नेतृत्वमा नेपालले लगातार दुईपटक आइसिसी टी–२० विश्वकप खेल्यो।
उनकै कप्तानीमा नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप एसिया तथा इएपिए छनोटको उपाधि जितेको थियो।
यस्तै,नेपालले पहिलोपटक टेष्ट टिम वेस्ट इण्डिजविरुद्धको टी–२०आई शृङ्खला पनि जित्यो। गत वर्षको सेप्टेम्बरमा आयोजित तीन खेलको उक्त शृङ्खला २–१ ले जितेको थियो।
नेपालको एकदिवसीय क्रिकेट टोलीको नेतृत्व सम्हाल्ने बेला रोहितकुमार पौडेल २० वर्ष ७३ दिनको थिए। उनी अहिले पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कान्छो कप्तानको रूपमा दोस्रो स्थानमा छन्।
रोहितभन्दा अगाडि अफगानिस्तानका राशिद खानको नाम मात्र छ। राशिदले १९ वर्ष १६५ दिनको उमेरमा एकदिवसीय टोलीको कप्तानी सम्हालेका थिए।
रोहितको कप्तानीमा नेपालको नतिजा
रोहितको कप्तानीमा नेपालले सर्वाधिक ६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो, जसमा नेपालले ३१ खेलमा जित र ३० खेलमा हारको सामना गर्यो। यस्तै, नेपालले दुई एकदिवसीय खेल ड्र खेल्यो।
रोहितले ५९ टी–२० आई खेलमा टोलीको नेतृत्व गरे, जसमा नेपालले ३३ खेलमा जित र २१ खेलमा हार व्यहोर्नु पर्यो । यस्तै, नेपालले तीनवटा टी–२०आई खेलमा अङ्क बाँडेको थियो।
रोहित नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बने। उनको कप्तानीमा नेपालले दुवै ढाँचागरी १२२ खेल खेल्यो।
रोहित नेतृत्वबाट हटेसँगै क्यानले टी–२० आईमा दीपेन्द्र सिंह ऐरी र एकदिवसीय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ।
सन्दीप चार वर्षपछि कप्तानमा फर्किएका हुन्। उनले सन् २०२२ मा नेपालको कप्तानी गरेका थिए। सन्दीपको कप्तानीमा हालसम्म नेपालले १४ एकदिवसीय र १८ टी–२० आई खेल खेलेको छ।
प्रकाशित: २६ श्रावण २०८३ १२:२८ मंगलबार